गोरखा पुगेर श्रेष्ठले भने – समाजवादको लक्ष्य पूरा गर्न सबै कम्युनिस्ट एकै कित्तामा उभिनुपर्छ

Machchapuchchre

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । नेकपा पालुङटार नगरकमिटिले गोरखामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेकपा समाजवादको लक्ष्य पूरा गर्नका लागि अघि बढिसकेकोे भन्दै अव कम्युनिष्ट पार्टी छुट्टाछुट्टै बस्नुको अर्थ नरहने बताए ।

“वैज्ञानिक समाजवाद प्राप्तिका लागि योजनाबद्ध ढङ्गले पार्टी अघि बढिरहेको छ”, उनले भने, “नेकपा भन्दा बाहिर रहेका कम्युनिष्ट शक्ति अव एउटै कित्तामा उभिएर बहस र छलफल गरी नयाँ रणनीतिका साथ अघि बढ्नुको विकल्प छैन ।” प्रवक्ता श्रेष्ठले सबै कम्युनिष्ट एकै ठाउँमा बसेर अध्ययन, छलफल र बहसको माध्यमबाट नयाँ विचारको विकास गर्न सके मात्र आजको आवश्यकता पूरा हुने बताए ।

“अब फरक ढङ्गले नजाने हो भने नयाँ वैचारिक क्रान्ति र मुक्तिको अभियानलाई सफल बनाउन सक्दैनौ”, उनले भने, “त्यसका लागि नेकपा बाहिर रहेका कम्युनिष्ट एकै ठाउँमा गोलबद्ध हुनु आवश्यक छ ।” नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापाले कम्युनिष्ट पार्टीभित्र अनुशासन महत्वपूर्ण कुरा रहेको भन्दै त्यसलाई सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्