नक्कली शरणार्थी प्रकरणका फरार १२ जना, कता छन् ?

Machchapuchchre

अर्थ राजनीति  ~  नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार अशोक पोखरेलसहित अर्का एक फरार अभियुक्त अमेरिकामा छन् । उनीहरूविरुद्ध प्रहरीमा जाहेरी परेपछि अमेरिका पुगेका पाइएको हो । यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा भारतमा रहेको प्रहरीसमक्ष सूचना आएको छ । प्रहरीको फरार सूचीमा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजीतका छोरा निरज राईसहित केशव तुलाधार, अशोक पोखरेल, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, राजेश अर्याल र आशिष बुढाथोकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले फरार सूचीमा रहेका अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिए । यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी डा। मनोज केसीले पनि प्रहरीले आफ्नो संयन्त्रमार्फत देश तथा विदेशमा रहेका अभियुक्तहरूको खोजी गरिरहेको बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको थियो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि पक्राउ परेकाहरूको बयान सकाएर थुनछेक बहस जारी छ । उनीहरूबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ असुलउपर गर्न माग गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्