चौरजहारीका वडा अध्यक्षमाथि नेकपाको युवा सङ्गठनले दल्यो कालोमोसो, हेर्नुहोस कारणसहित

Machchapuchchre

रुकुम पश्चिम । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीनिकट युवा सङ्गठन नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लाल बहादुर बुढाथोकिलाई कालो मोसो दलेको छ । शनिबार एक बिज्ञप्ति जारी गर्दै युवा सङ्गठनले बुढाथोकीमाथि कारवाही गर्नुको कारण प्रष्ट पारेको छ । बुढाथोकीले जनयुद्धलाई घात गरेर २०५९ सालमा मुसिकोट खलंगामा तत्कालिन प्रशासन सामु आत्मासमर्पण गरेर गद्दारी गरेको, बर्गीय, जातिय सबै किसिमका उत्पिडनका बिरुद्दमा स्थापित गणतन्त्रको सत्तामा बसेर दलित समुदायलाई तल्लो स्तरको व्यबहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सत्ता र शक्तिको आडमा सार्वजानिक सम्पतिको चोरी र दोहन गरिरहेको, जनताको करलाई दुरुपयोग गर्दै ब्यक्तीगत सुख र लाभका लागि भ्रष्टाचार गरको र जनसत्ताले राजिनामा गर्न दिएको निर्देशनको अवज्ञा गरेको भन्दै उनीमाथि सांकेतिक कारवाही गरेको युवा सङ्गठनले जनाएको छ ।

सार्वजनिक बन समितिमा दलित समुदायको तर्फबाट मेरो सहभागिता गराइयोस भनेर आफ्नो कुरा राख्ने गोबिन्द बिकमाथि जातीय विभेद र कुटपिट गरेको भन्दै युवा सङ्गठनले एक्काइसौं सताब्दीमा मानवलाई जातका आधारमा श्रेष्ठ हुने नहुने भनेर बुढाथोकीजस्ता गद्दारहरुलाई भन्न नमिल्ने बताएको छ ।

‘एक्काइसौं सताब्दीमा मानव जातका आधारमा श्रेष्ठ हुने होइन बरु विवेक ,क्षमता ,प्रतिभा उच्च मानविय गुणले श्रेष्ठ साबित हुने हो । यो युगमा सत्तामा बसेर बिभेदको खेती र रक्षा गर्ने बिषय ठूलो अपराधको बिषय हो । जातीय विभेद समाजिक कुरिती मात्रै होइन, बरु कानुन त दन्डनिय पनि हो । जब कानुन नै अपराधको रक्षा गरेर बस्छ भने अपराधको जरो उखेल्न हामी बाध्य हुनेछौं ।’ अध्यक्ष लय सहानीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै जनसरकारले सामाजिक ,आर्थिक ,साँस्कृतिक तथा राजनीतिक रूपमा भ्रष्ट जनप्रतिनिधिलाई यसअघि राजीनामा दिन गरेको निर्देशनको कार्यान्वयन गरी तत्काल राजीनामा दिएर जनसरकारलाई सहयोग गर्न युवा संगठन नेपाल चेतावनी समेत दिएको छ ।

विज्ञप्तिको अन्तमा भनिएको छ – ‘अन्तमा सत्ता र शक्तिको आडमा तपाईहरुलाई करको भारी बोकाइ आफू गाडीको सयरमा रमाउने कथित जनप्रतिनिधि, समाजको अग्रगमन यात्रालाई रोक्न खोज्ने, समाजलाइ दुषित बनाउने सबै किसिमका ब्यक्तिहरुलाइ जनकार्वाहि गर्दै समाजिक रुपमा बहिस्कार गर्न अनुरोध गर्दछौ । साथै जनसरकारले सामाजिक ,आर्थिक ,साँस्कृतिक तथा राजनीतिक रूपमा भ्रष्ट जनप्रतिनिधिलाई यसअघि राजीनामा दिन गरेको निर्देशनको कार्यान्वयन गरी तत्काल राजीनामा दिई जनसरकारलाई सहयोग गर्न युवा संगठन नेपाल निर्देशन गर्दछ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्