प्रहरीले घाँटी समातेको भारतीय कंग्रेस नेतृ प्रियंकाको आरोप

Machchapuchchre

काठमाडौं । भारतीय कंग्रेसकी नेतृ प्रियंका गान्धीले प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएकी छन् । भारतीय कंग्रेसकी महासचिव गान्धीले लखनऊमा महिला पुलिसले आफ्नो घाँटी समातेको तथा हातपात गरेको आरोप लगाएकी हुन् ।

नागरिकता संशोधन कानूनको विरोध गरेका कारण पक्राउ परेका अवकास प्राप्त प्रहरी अधिकारीलाई भेट्न उनको घर जाँदै गर्दा प्रहरीले आफूलाई रोक्ने प्रयास गरेको र सोही क्रममा महिला प्रहरीले आफ्नो घाँटी समातेको तथा हातपात गरेको उनको आरोप छ ।

यसबारे उत्तर प्रदेश प्रहरीले वक्तव्य जारी गरेर प्रियंका गान्धीको आरीप गलत भएको दाबी गरेको छ । प्रहरीले तय गरेको मार्गबाट नगएको र सुरक्षा चुनौतीका कारण बाटोमा रोकेको बाहेक अरु कुनै दुर्व्यवहार नभएको प्रहरीको दाबी छ ।

७६ वर्षका पूर्व प्रहरी अधिकारी एस आर दारापुरीको घर जानका लागि प्रियंका पहिला एक स्कूटरको पछाडि बसेकी थिइन् । त्यसपछि उनी पैदल हिँडेकी थिइन् । नागरिकता संशोधन कानूनको विरोध प्रदर्शनमा सहभागी भएका दारापुरी केही दिनअघि पक्राउ परेर रिहा भएका थिए । प्रियंका गान्धीले आफ्नो फेसबुक पेजमा भिडियो पोस्ट गरेकी छन्, जसमा उनी पैदल हिँड्दै गरेको देखिन्छ र साथमा कांग्रेस कार्यकर्ताहरु पनि छन् ।

भिडियोसँगै उनले लेखेकी छन् ‘उत्तर प्रदेश प्रहरीको यो कस्तो हरकत हो ? हामीलाई कहिँ जान आउन पनि दिइएको छैन । म अवकास प्राप्त प्रहरी अधिकारी र अंबेडकरवादी सामाजिक कार्यकर्ता एस आर दारापुरीको घर जाँदै थिएँ । उत्तर प्रदेश प्रहरीले उनलाई एनआरसी र नागरिकता संशोधन कानूनको शान्तिपूर्ण विरोध गरेकोमा घरबाटै पक्राउ गरेको थियो ।’

उनले लेखेकी छन्‘मलाई बलपूर्वक रोकियो र महिला प्रहरी अधिकारीले मेरो घाँटी समातेर तानिन् । तर म अडिग रहेँ । म उत्तर प्रदेश प्रहरीको दमनको मारमा परेका हरेक नागरिकको साथमा छु । मेरो सत्याग्रह हो ।’ उनले भाजपा सरकारले कायरले जस्तै हरकत गरिरहेको पनि आरोप लगाएकी छ्न् । यस्तो छ भिडियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्