अर्थ राजनीति ~ कानुनतः ‘क्रिप्टोकरेन्सी’ नेपालमा प्रतिबन्धित छ । यद्यपि आर्थिक मन्दीका बिच नेपालमा यसको अवैध कारोबार हुनका साथै ठूलै परिमाणमा बाहिरिने गरेको आशंका केन्द्रीय बैंकले गरेको छ । बिटक्वाइन, ईथर, टीथर, बीएनबीजस्ता सयौँ अभौतिक मुद्रालाई प्रयोग गरी सट्टेबाजीमा गिरोहहरूले नेपालबाट लगानी बाहिर लगिरहेको हुन सक्ने आशंका केन्द्रीय बैंकले गरेको हो । नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, नन् फङ्गिबल टोकन (एनएफटी), डिजिटल एसेट, डिसेन्टरलाइज फाइनान्स (डीईएफआई) ले कानुनी मान्यता नपाएको तथा नेपाल सरकारको जमानत प्राप्त नभएको र केन्द्रीय बैंकले निष्काशन एवं व्यवस्थापन समेत नगरेको भर्चुअल मुद्रालाई विदेशी विनिमय ऐन, २०१९ को दफा १० (क) र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ ले बर्जित गरेको छ । क्रिप्टोकरेन्सी जस्ता अभौतिक मुद्रा केन्द्रीय बैंकको काबु (नियन्त्रण एवं कारोबारको तथ्याङ्क) बाहिर हुँदा के–कति कारोबार, प्रयोगमा छ भन्ने कुनै जानकारी छैन । तर, पछिल्ला केही शंकास्पद गतिविधिले भने नेपालभित्र बसेर वा नेपाल बाहिरबाट पनि नेपालीहरू क्रिप्टोकरेन्सीजस्तो गैरकानुनी कारोबारमा संलग्न भइरहेको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ ।
राष्ट्र बैंकका अनुसार अवैधानिक क्रिप्टोकरेन्सीबाट देशभित्रबाट पिरामिड आकारको व्यापार व्यवसाय र सट्टेबाजीको माध्ययमबाट पैसा बाहिरिने खतरा छ भने बाहिरबाटै रेमिट्यान्सको पैसासमेत क्रिप्टोमा लगानी हुने जोखिम देखिएको छ । यस्तो कारोबारबाट लगानीको जोखिम देखिएर नै प्रतिबन्ध गरिएको हो । राष्ट्र बैंकले सुसूचित गर्ने मात्र हो, कैफियत भेटिए कानुन कार्यान्वयनको सम्बन्धित पक्षले कारबाही गर्दै आएको छ । क्रिप्टोकरेन्सी/हाइपर फन्ड, पिरामिड आकारको व्यापार व्यवसाय रोक्न केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय एजेन्ट सञ्जाल, बैंक तथा वित्तीय संस्था र विदेशी विनिमय विभागसँग समेत समन्वय गरिरहेको छ ।