बालुवाटार हिँडेका मिटरब्याजी पीडित टंगालमै रोकिए

Machchapuchchre

अर्थ राजनीति  ~  ११ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका पीडितहरू मंगलबार बिहानै प्रधानमन्त्री भेट्ने भन्दै बालुवाटार हिँडेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेर राखेको छ । मिटरब्याजी पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगाल पुगेका छन् । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौँका प्रहरी प्रमुख दानबहादुर कार्की लगायतको टोली टंगाल पुगेर पीडितका माग सम्बोधन गर्ने प्रयास भइरहेको बताएका हुन् । ‘कतिपय विषय कानुन बनाएर संशोधन गर्नुपर्ने छन् । प्रहरी प्रशासन मात्रै भनेर सबै गर्न सकिने कुरा भएन’, सहसचिव शर्माले भने, ‘कानुन बनाउन समय लाग्छ । कानुन बनाउने काम अघि बढेको छ । प्रमुख जिल्ला अधिकारीले पनि काम गरिरहनुभएको छ ।’ उनले सरकारले ३४६ जनाको समस्या समाधान भइसकेको भन्दै बाँकी समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताएका हुन् । साथै उनले पीडितहरूले प्रधानमन्त्रीलाई भेट्ने चाहाना राखेकाले त्यसको समन्वयका लागि समेत आफूले पहल गर्ने बताए । ‘उहाँहरूले आफ्ना समस्या प्रधानमन्त्रीलाई जाहेर गर्ने भन्नुभएको छ, त्यो भन्ने बित्तिकै सम्भव हुँदैन । म अहिले सम्माननीय प्रधानमन्त्रीलाई भेट्दै छु, भेट्दा उहाँहरूको कुरा जाहेर गर्छु’, शर्माको भनाइ छ । प्रहरीले बालुवाटारतर्फ जान नदिएपछि पीडितहरू टंगालमै धार्नामा बसेका हुन् । बिहान दश बजेसम्म टंगालमा धर्ना दिएका उनीहरू अहिले भद्रकालीतर्फ फर्किरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्