बैंकमा बढ्दो अराजकता, कतै आक्रमण कतै बिरोध

Machchapuchchre

अर्थ राजनीति ~  बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैङ्कको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्यान लिने उद्देश्यसाथ साङ्घातिक आक्रमण भएको छ । घटना २ – फागुन १७ गते जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाइरहेका एनआईसी एसिया लघुवित्तका एक जना कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेर कर्मचारीबाट नगदसहितको झोला लुटपाट गरे । घटना ३ – बीस लाख रुपियाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने र नगरे कालोमोसो दलिदिने घोषणासहित व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको ‘कालोमोसो समूह’का संयोजक शम्भु थापा फागुन २४ गते चितवनबाट र अरू पनि देशका विभिन्न स्थानबाट पक्राउ परे । उक्त समूहद्वारा सार्वजनिक रूपमै अझै पनि बैङ्क तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण व्यवहार प्रदर्शन जारी रहेको छ । घटना ४ – नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला सदस्य मकवानपुर उद्योग वाणिज्य सङ्घले फागुन २८ गते ‘बैङ्कमा नगद जम्मा नगरौँ’ भन्ने आशयसहितका ब्यानर लिएर हेटौँडा बजारमा प्रदर्शन गरे। सङ्घद्वारा ब्याजदरको विषयमा विरोध जनाउँदै एक दिनका लागि बैङ्क बन्द गराउन हेटौँडास्थित बैङ्क कार्यालयलाई पत्राचार गरियो । घटना ५ – उद्योगी व्यवसायीको छाता सङ्गठन मानिएको नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र आगामी निर्वाचनका आकाङ्क्षीसमेतको सहभागितामा फागुन ३० गते नेपाल राष्ट्र बैङ्क नजिक ब्याजदर घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन भएको छ ।

तुलनात्मक रूपमा सुदृढ मानिएको मुलुकको बैङ्किङ प्रणालीमाथि पछिल्लो समय भइरहेका प्रहारका प्रतिनिधि घटना हुन् यी । सम्झौता अनुसार कर्जा भुक्तानी गर्नुपर्ने दायित्वबाट विमुख भई सर्वसाधारणको निक्षेप दुरुपयोग गर्न पाउनुपर्ने आशयसहितका यस्ता अभियानले बैङ्किङ प्रणालीमाथि नै अविश्वास पैदा गर्ने प्रयास भइरहेका छन् । भौतिक आक्रमणसमेतका यस्ता प्रयासले बैङ्किङ क्षेत्रका कर्मचारी त्रसित छन् ।  संरचनात्मक व्यवस्था हुँदाहुँदै सडकबाट समाधान खोज्ने प्रवृत्तिले समग्र बैङ्किङ क्षेत्रलाई असर गर्ने नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बताउछन् । “बैङ्किङ क्षेत्रमा देखिएका तमाम समस्या समाधान गर्न राष्ट्र बैङ्कले पछिल्लो समय धेरै सुधार गरेको छ,” उनले भने, “तर व्यवस्थाभित्रैबाट समाधान खोज्नुपर्नेमा आफूखुसी गर्न खोज्नु अराजक प्रवृत्ति नै हो ।” कतिपय व्यवसायीले चुनावी एजेन्डा तयार गर्न पनि बैङ्किङ क्षेत्रमाथि नै प्रहार गरिरहेको उद्योगी व्यवसायीले नै बताउने गरेको उनको भनाइ छ । बैङ्क तथा वित्तीय क्षेत्र र यसमा कार्यरत व्यक्तिमाथि साङ्घातिक आक्रमणको घटना, सडकमा आन्दोलनजस्ता अराजक गतिविधिले वित्तीय क्षेत्रको सुरक्षा र भविष्यमै प्रश्न उठ्ने अवस्था आएको बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवन गोल्यान बताउछन् । “यस्तै अवस्था रहे हामी बैङ्क तथा वित्तीय संस्था चलाउन सक्दैनौँ,” उनले भने, “जनताको सम्पत्ति र हाम्रो जिउधनको रक्षा गर्न सरकार अत्यन्तै संवेदनशील हुनुपर्‍यो, अराजकता रोक्नु पर्‍यो ।”

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्