५ बजेको बैठकले राष्ट्रपति उम्मेदवार टुंग्याउने, त्यसपछि अरू दलसँग छलफल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेससहित चार दलले राष्ट्रपति उम्मेदवार आज अपराह्न ५ बजे बस्ने बैठकबाट टुंगो लगाउने भएका छन्। बालुवाटारमा आज बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूबीच तीन घन्टासम्म चलेको बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो। छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगन थापाले आज अपराह्न ५ बजे राष्ट्रपति उम्मेदवार तय गरिने बताए। राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गरिरहेका छन्। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमतिसहित कांग्रेसलाई राष्ट्रपति दिनेबारे दलहरू सहमतिनजिक रहेको स्रोतको भनाइ छ। उपराष्ट्रपतिमा भने जसपाले दाबी गरेको छ। दलहरू जसपालाई उपराष्ट्रपति दिन सकारात्मक देखिएका छन्। दलहरूले राष्ट्रपति उम्मेदवार तय गरेपछि आज साँझ ६ बजे बालुवाटारमै अरू साना दलहरूसँग पनि छलफल गर्ने भएका छन्। जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलका शीर्ष नेताहरूसँग चार दलका शीर्ष नेताहरूले संयुक्त छलफल गर्ने तयारी रहेको कांग्रेसका एक नेताले जानकारी दिए। शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ। कांग्रेससहित दलहरूले चुनावको बेलाको गठबन्धन ब्युँताउन खोजेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्