एमालेलाई पाखा लगाएर राष्ट्रपति पद हत्याउने प्रयासमा कांग्रेस

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सो पदमा दलहरुबीच तानातानको अवस्था देखिएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइपनि स्पष्ट चित्र नआउँदा अन्योलता कायम भएको हो ।  वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । संवैधानिक राष्ट्रपति भएपनि विभिन्न राजनीतिक परिघटनामा भूमिका निर्णायक हुने र विगतमा राष्ट्रपतिकै कारण सरकार अफ्ठ्यारोमा पर्ने गरेकाले यो पदलाई दलहरुले महत्व दिएका छन् । सोहीअनुसार दलहरु आफू अनुकुलको व्यक्तिलाई पदमा विराजमान गराउने ध्याउन्नमा देखिन्छन् । माघ ५ गते प्रतिनिधिसभाको सभामुख चयन भएपछि संसद भवनबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन सहमतिमै हुने प्रतिक्रिया दिएका थिए ।  त्यसलगतै संसद भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी ओलीले भने प्रचण्डको प्रतिक्रियाको प्रतिवाद हुनेगरी एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका थिए । पत्रकारहरुसँग उनले भनेका थिए, ‘सहमति हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’  त्यसअघि पुस ३० विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा सहमति भइनसकेको बताएका थिए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा कसैसँग कुनै सहमति भएको छैन’, प्रचण्डको भनाइ थियो । यसआधारमा एमाले–माओवादी केन्द्रसहितको सत्ता साझेदार दलमा ठोस सहमति नजुटेको र दलहरु आ–आफ्नो पक्षमा लबिङमै रहेको प्रष्ट हुन्छ । उसो त पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि काँग्रेसको पनि चुरीफुरी बढेको छ । विश्वासको मत दिएको बदलामा राष्ट्रपति पाउने विश्वासमा रहेको कांग्रेस माओवादीको सकारात्मक जवाफको प्रतिक्षामा देखिन्छ । काँग्रेसका नेता एवं प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको रक्षाका लागि राष्ट्रपति पदमा उपयुक्त व्यक्ति को होला भन्ने विषयमा छलफल भइरहेको बताए ।

विश्वासको मत लिइसकेका प्रधानमन्त्री प्रचण्डले सभामुख, उपसभामुखमा नसघाएकाले राष्ट्रपतिमा सघाउने आशा कांग्रेसमा छ ।  काँग्रेस त्यही विश्वासका साथ तयारीमा लागेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि विषयवस्तुतमा नचिढ्याउन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको बताइन्छ । उनले पदाधिकारीको बैठकमा राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम अघि सारेका छन् । सभापति देउवाले कुनै पनि हालतमा राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार निर्वाचित हुने वातावरण बनाउनुपर्ने भन्दै नेताहरूलाई अन्य दलसँग छलफलमा जुट्न निर्देशन पनि दिइसकेका छन् । सभापति देउवाको निर्देशनपछि सो पार्टीका नेताहरुले माओवादी केन्द्रलगायत अन्य दलका नेता शीर्ष नेताहरुसँग अनौपचारिक छलफल सुरु गरिसकेका छन् । त्यसले एमालेलाई झन झस्काएको छ । एमालेका स्कूल विभागले माघ ११ गते आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गठबन्धन भत्काएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको धारणासमेत राखेका थिए । ओलीको संकेत राष्ट्रपतिमा सहमति भइसकेको र त्यसमा दायाँबायाँ हुन नसक्ने भन्ने थियो ।  उसो त माओवादीले काँग्रेसलाई साथमा लिएपछि ओली दवावमा देखिएका छन् । सोही कारण ओलीले सत्ता गठबन्धनभित्रै पनि आफ्ना पक्षमा दलहरुलाई ध्रुवीकृत गर्न थालेका छन् । उनले राजेन्द्र लिङ्देल नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो पक्षमा लिएका छन् । उता प्रधानमन्त्री प्रचण्डले जनमत पार्टी, जसपा, लोसपाका साथै काँग्रेस र नेकपा एकीकृतलाई साथमा राखेका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्