राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझियो

Machchapuchchre

अर्थ राजनीति  ~   निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ । नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ । आयोगका सचिव गोकर्णमणि दुवाडीले पदाधिकारी बैठकले निर्णय गरेको मितिमा राष्ट्रपतिको निर्वाचन हुने बताए । उनले राष्ट्रपतिको निर्वाचनको मिति घोषणाका लागि पदाधिकारी बैठक कहिले बस्ने छ भन्ने सम्बन्धमा भने खुलाएनन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझिएको छ । राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक महिना अगावै दुवै पदको निर्वाचन हुनुपर्ने उल्लेख छ। ऐनअनुसार यही माघ २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसका लागि पुस महिनाभित्रै निर्वाचनको मिति घोषणा गरेर आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गर्नुपर्ने थियो । तर माघ पहिलो साता बित्दा पनि आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “संविधान र ऐनमा असामञ्जस्यता छ । सुरक्षित अवतरणका लागि आयोग छलफलमा छ । छिट्टै निर्णय हुनेछ ।” आयोगले सरकारसँगको परामर्शमा राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्