“कांग्रेसले प्रधानमन्त्री अफर गरे पनि हामी सत्ता गठबन्धन छाड्दैनाैँ “: राणा

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले प्रधानमन्त्रीकाे अफर गरे पनि राप्रपा सत्ता गठबन्धनमै रहने भएकाे छ । राप्रपा महामन्त्री धवल शमशेर राणाले नयाँ सरकार बनेकाे यति छाेटाे समयमै साथ छाेड्नु अपरिपक्वता र अविश्वसनीय काम हुने बताएका छन् । ‘कांग्रेसकाे अफरलाई पत्याउने आधार छैन । ऊ आफैँ आन्तरिक रूपमा विभाजित छ । त्यसैले राप्रपा कांग्रेसकाे प्रलाेभनमा पर्दैन’, महामन्त्री राणाले भने, ‘अहिले हामी यही गठबन्धनलाई साथ दिएर अघि बढ्छाैँ । दायाँबायाँ लाग्दैनाैँ ।’उनले राप्रपा राजनीतिक स्थिरताकाे पक्षमा रहेकाेले पनि बलियाे सरकार बनाउने र टिकाउने याेजनामा रहेकाे बताए । ‘हामी सरकारकाे साझा नीति तथा कार्यक्रम बनाउनमा व्यस्त छाैँ’, राणाले भने, ‘हाम्रा केही सर्तहरू छन् । ती पूरा गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । प्रधानमन्त्रीले विश्वासकाे मत लिएपछि राप्रपा पनि सरकारमा जान्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासकाे मत लिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा लागेकाे हाे । कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री अफर गर्दै नयाँ गठबन्धनकाे प्रस्ताव राखेपछि राजनीति तरंगित भएकाे छ । देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए । राप्रपाले साथ दिए एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्रबाहेकका दलहरू समेटेर बहुमत पुर्‍याउने कसरतमा देउवा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्