” राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ” : कांग्रेस नेता पौडेल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ । आज मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नु पर्नेमा जोड दिनुभयो । लामो संघर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानु पर्ने उहाँको भनाइ छ । वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गर्नुभयो । उहाँले विगतमा आफूहरुकाबीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताउनुभयो । देशमा अस्थिरताको श्रृङ्खला अगाडी बढेको उहाँले बताउनुभयो ।वरिष्ठ नेता पौडेलले सांसदहरुलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रुपमा पठाइने भएपनि सांसदहरु विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताउनुभयो । जनताले पनि सांसदहरुलाई विकासे कार्यकताको रुपमा बुझ्दा समस्या भएको बताउनुभयो । जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरु पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रीहरुले सबै कुरा आफैंमा केन्द्रीकृत हुने प्रवृत्ति प्रस्तुत गरेकाे वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्