पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्दै बुद्ध एयर

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरी (पुस १७)मा उद्घाटनको तयारी गरेको छ। उद्घाटन लगात्तै सञ्चालनमा आउने यस विमानस्थलबाट आन्तरिकतर्फ उडान गर्न सम्बन्धित वायुसेवाहरूले तयारी गरेका छन्। बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान गर्न तयारी पूरा गरेको बताएको छ। विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन काउण्टर नं. ३, ४ र ५ तोकिएको छ। लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न बुद्धले अनुरोध गरेको छ। नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरू टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टा अगावै विमानस्थल पुगेर चेक–इन गर्न कम्पनीले विशेष आग्रह गरेको छ। बुद्धले बुधबार विज्ञप्ति जारी गर्दै यस विमानस्थलबाट काठमाडौं जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लाने बताएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्धले २३ फेब्रुअरी देखि रात्रीकालिन उडान पनि गर्ने जनाएको छ। अन्तर्राष्ट्रियतर्फ अनुमति पाएपछि बुद्धले पोखराबाट भारतको बनारस पनि उडान गर्ने बताएको छ। बुद्ध एयरसँग ११ वटा एटिआर–७२, ३ वटा एटिआर–४२ जहाज छन्। कम्पनीले थप ३ वटा एटिआर–७२ भित्र्याउन लागेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्