स्प्रेडदरको प्रभाव बैंकहरुको सेयर मूल्यमा देखिन थाल्यो

Machchapuchchre

अर्थ राजनीति  ~   बैंकहरुका सेयर मूल्य लगातार घट्न थालेको छ। यसको कारक नेपाल राष्ट्र बैंकको निर्णय हो।राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै स्प्रेडदर घटाउने निर्णय गर्‍यो। यो निर्णयसँगै ४.३९ प्रतिशतसम्म पुगिसकेको वाणिज्य बैंकहरुको स्प्रेड दर असारसम्म ४ प्रतिशतमा ल्याउनुपर्ने दबाब छ। स्प्रेड घट्दा वाणिज्य बैंकको नाफा घट्नेछ। नाफा घट्ने भएकाले बैंकको सेयर घट्न थालेको छ। नियामकीय प्रावधानको उपल्लो सीमासम्म पुगेको स्प्रेड दर बैंकहरुले चैतसम्म ४.२ प्रतिशत ल्याइसक्नु पर्छ र, असारसम्म तोकए बमोजिम हुनुपर्ने राष्ट्र बैंकले सर्कुलर नै जारी गरिसकेको छ। ब्याजदरले गर्दा ऋणको माग नै नभएको बेला बैंकले थप आम्दानी गुमाउनुपर्ने भएपछि बैंकरहरु रुष्ट समेत छन्। ‘स्प्रेड दर घटाएर एकातिर नाफा प्रभावित हुने भएको छ। अर्कोतिर जुन प्रयोजनका लागि घटाइएको हो त्यो पनि तत्काल प्राप्त हुँदैन,’ एक बैंकरले भने, ‘ब्याजदर घटाउन प्रभावकारी कदम चाल्ने हो भने नीतिगत दर नै लचिलो हुन जरुरी छ। यसमा निजी क्षेत्र पनि सकारात्मक छ।’ वाणिज्य बैंकसहित राष्ट्र बैंकले विकास बैंक र फाइनान्सको स्प्रेड दरमा पनि लगाम लगाएको छ। ४.९९ प्रतिशतसम्म लिँदै आएका उनीहरुलाई पनि ४.६ प्रतिशतमा स्प्रेड ल्याउनु पर्ने नियामकीय दबाब छ। आम्दानीमा असर पर्ने भएपछि सेयर बजारमा बैंक वित्त संस्थाहरुको सेयर लगातार घटिरहेको छ। धेरै वाणिज्य बैंकहरुको सेयर ३ सय रुपैयाँभन्दा तलमा किनबेच हुन थालेका छन्। व्यवसायिक रुपमा अग्रसर कतिपय बैंक २ सय तल आएका छन्। सेयर बजारको बहुल हिस्सा प्रभावित हुँदा सेयर बजारको गति सुस्त हुन थालेको सेयर बजारका जानकारहरु तर्क गर्छन्। ‘बैंकहरुलाई नीतिगत हस्तक्षेपमार्फत आम्दानी घटा भन्नु सेयर बजारलाई सोझै प्रभाव पार्नु हो,’ अनुभवी एक लगानीकर्ताले भने,’राष्ट्र बैंक सेयर बजार प्रति कहिल्यै सकारात्मक हुन सकेन।’ व्यवसायीलाई रिझाउन ल्याएको लोकप्रिय नीतिले सेयर लगानीकर्तालाई भने प्रतिकूल अवस्था सृजना गर्ने उनले बताए। कुल बजार पुँजीकरणको झन्डै ४३ प्रतिशत हिस्सा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको हो। मौद्रिक समीक्षापछि अधिकांश वाणिज्य बैंकको सेयर मूल्य घटेको छ। स्प्रेड ४ प्रतिशत माथि भएका बैंकसँगै निर्धारित सीमाभन्दा तल भएका बैंकको सेयरमा पनि खासै आकर्षण छैन। यस दौरान समग्र बजार पनि प्रभावित बन्दै गएको छ। बजारमा वाणिज्य बैंकहरुको सेयर माग पनि कम हुन थालेको छ। विकास बैंक र वित्तहरुको चाख पनि कम भएर गएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्