पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

Machchapuchchre

अर्थ राजनीति  ~  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झन्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान–अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको निजी क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित छन् । यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि विमानस्थलबाट व्यावसायिक रुपमा आन्तरिक तथा बाह्य उडानको योजना नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागि नसके पनि आन्तरिक उडान भने सोही विमानस्थलबाट हुने निश्चित छ । भव्य विमानस्थल निर्माण भएर उडान सुरु भएसँगै यहाँका उद्योगी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतले खुसी साटासाट गरे । परीक्षण उडानमा सहभागी भएर उद्योगी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीले खुसी साटेका हुन् । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित छन् । पोखरा अन्तर्राष्ट्रिय सहरसँग सिधै हवाई सम्पर्क स्थापित हुने भएकाले समेत उत्साह थपिएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नवनिर्मित विमानस्थलमा परीक्षण उडान सफल भएको नयाँ वर्षदेखी विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरू हर्षित र उत्साहित भएको बताए । कोरोना महामारीपछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास पर्यटन व्यवसायीले लिएको उनले बताए ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थलमा परीक्षण उडान सफल भएर विमानस्थल सञ्चालनको अन्तिम तयारी हुनु सबै पोखरेलीका लागि खुसीको कुरा भएको बताए । उनले लामो समयको प्रतीक्षापछि विमानस्थल बनेकाले सबै मिलेर समस्या समाधान गर्दै निरन्तर सञ्चाल  गर्नुपर्ने  बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्