वाणिज्य बैंकहरूको नाफा कात्तिकमा ३४ प्रतिशत बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरूले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको नाफा ३४ प्रतिशतको बढेको हो । गत असोजसम्ममा वाणिज्य बैंकहरूले १८ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरूको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको वाणिज्य बैंकहरूको कात्तिक महिनासम्मको वित्तीय विवरणअनुसार नाफा ३४ प्रतिशतले बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार २५ वाणिज्य बैंकहरूले कात्तिकसम्मको वित्तीय विवरण पेश गरेका छन् । राष्ट्र बैंकमा विवरण पेस गर्ने २५ वाणिज्य बैंकमध्ये ९ बैंकको नाफा अर्बभन्दा बढी पुगेको छ । कात्तिकसम्ममा वाणिज्य बैंकहरूमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । सबैभन्दा कम नाफा कमाउने बैंकमा कृषि विकास बैंक परेको छ । राष्ट्र बैंकको विवरणअनुसार कात्तिकसम्ममा सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको नाफा २ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । दोस्रोमा एनआईसी एशिया र तेस्रोमा ग्लोबल आइएमई बैंक रहेका छन् । यी बैंकहरूले क्रमशः २ अर्ब २२ करोड ७८ लाख रुपैयाँ र १ अर्ब ७५ करोड ४९ लाख रुपैयाँ नाफा गरेका छन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ नाफा कमाउँदा एनएनबि बैंकले १ अर्ब ३० करोड ८४ लाख कमाएको छ । कुमारी बैंकले १ अर्ब २५ करोड ७७ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब २५ करोड ७७ लाख र एभरेष्ट बैंकले १ खर्ब १५ करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि १ अर्ब ८ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ ।

राष्ट्र बैंकको विवरणअनुसार कात्तिकसम्ममा एक अर्बभन्दा कम कमाउने वाणिज्य बैंकहरूमा नेपाल बैंक सबैभन्दा अगाडि छ । यसको नाफा ९५ करोड ९४ लाख रुपैयाँ रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ९२ करोड ६८ लाख रुपैयाँ र हिमालयन बैंकले ८३ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । नेपाल एसबीआई बैंकले ८२ करोड ७८ लाख रुपैयाँ नाफा कमाउँदा एनसीसी बैंकले ७२ करोड ७८ लाख रुपैयाँ कमाएको छ ।यस्तै, माछापुच्छ्रे बैंकले ५९ करोड ५८ लाख र सिद्धार्थ बैंकले ६७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका छन् । सिटिजन्स बैंकले ७० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्दा लक्ष्मी बैंकले ६५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । राष्ट्र बैंकको विवरणअनुसार कात्तिकसम्ममा मेगा बैंकले ७६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, सिभिल बैंकले ५६ करोड ९ लाख रुपैयाँ नाफा कमाउँदा सानिमा बैंकले ७८ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्