नयाँ सरकार गठनका लागि १३८ सांसद जुटाउन देउवा र ओलीलाई सकस

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एकसाता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् । सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एकमत छैन । गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिन विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ । सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने ताकमा छन् । त्यसका लागि उनले आफ्नो इच्छा जाहेर गरिसकेका छन् ।

एकीकृत समाजवादी पनि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आबद्ध दलको निर्णय पर्खेको छ भने केही आफ्ना राजनीतिक स्वार्थ पूरा गर्नेलाई समर्थन गर्न तयारीमा छ ।  ८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ । उसले सरकार गठनका लागि गठबन्धन आबद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन ।प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसमा प्रधानमन्त्रीमा अरु पनि आकांक्षी देखिएका छन् । संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । बहुमत नभएकाले अरु दलको सहारामा सरकार गठन गर्नुपर्ने भएकाले पनि नेताहरूले त्यति सक्रियता नदेखाएका हुन् ।कांग्रेसमा संसदीय दलको नेता जो बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हो । अहिलेको अवस्थामा देउवा पुरानै संसदीय दलको नेता हुन् । दलको नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी गरेकाले को बन्छ भन्ने ग्यारेन्टी छैन । संसदको पहिलो दल कांग्रेसले सरकार गठनका लागि समर्थन जुटाउन नसकिरहेका बेला ७८ सिटसहित दोस्रो दल बनेको एमालेले पनि सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन सकेको छैन । सत्तारुढ गठबन्धनको निर्णय र अवस्थालाई हेरेर एमालेले सरकार गठनका विषयमा निर्णय लिने तयारीमा छ । आवश्यक परेको खण्डमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी तयार रहेको एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै बोलिसकेका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्