विजुली व्यापारमा उत्साह: आयात भन्दा निर्यात धेरै हुने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले पहिलो पटक आयात भन्दा बढी विजुली निकासी गर्ने भएको छ। भारतबाट विजुली ल्याएर लोडसेडिङ हटाएको आलोचना खेप्दै आएको प्राधिकरणले यो वर्ष एक अर्ब भन्दा बढी युनिट भारत निकासी गर्ने भएको हो।गत वर्ष एक अर्ब युनिट भारतबाट विजुली आयात भएको थियो। गत वर्ष प्राधिकरणले १ अर्ब ५४ करोड युनिट विद्युत भारतबाट आयात गरेको थियो भने ४९ करोड ३० लाख युनिट विद्युत निर्यात गरेको थियो। निर्यातभन्दा आयात १ अर्ब ४ करोड ७० लाख युनिट बढी गरेको थियो। चालु वर्षको मंसिरसम्म प्राधिकरणले १ अर्ब २६ करोड युनिट विद्युत भारत निर्यात गरिसकेको छ।  पुससम्म २० करोड रुपैयाँ विद्युत निर्यात हुने अनुमान छ। चालु वर्षको जेठमा २० करोड र असारमा २५ करोड युनिट निर्यात हुने अनुमान छ। यो हिसाबले यो बर्ष १ अर्ब ८० करोड युनिट विद्युत निर्यातको लक्ष्य छ। चालु वर्ष ७० करोड देखि ९० करोड युनिट विजुली हिउँदका लागि आयात गर्नुपर्ने  अनुमान गरिएको छ। ‘हाम्रो कुल खपतको ९ प्रतिशत किनेका थियौं। हामी अहिलेसम्म आयात मुलुकमा थियौ। अब यो वर्षदेखि नेट एक्सपोर्टर हुन्छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,’ हामी आयातभन्दा निर्यात धेरै गर्छौं।’

उनले अहिले विदेशी मुद्राको संचित कम भएका बेला विजुली व्यापारले राहत दिएको बताए। ‘एकातिर विदेशी मुद्रा कमाइरहेका छौं भने अर्कोतिर आत्मनिर्भरता बढाइरहेको छौं,’ उनले भने,’ विजुली विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा ठुलो कमोडिटी बन्दैछ।’ प्राधिकरणले देशभित्र खपत गरेर अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ। भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत  प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो। प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे-अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको हो। नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन्। जसका कारण हिउँद (सुक्खायाम) मा ३५ प्रतिशत जति मात्रै उत्पादन  हुन्छ। सोही कारण जडित क्षमता २२०० मेगावाट पुगिसकेपनि हिउँदको १४०० मेगावाटको आन्तरिक पिक डिमाण्ड पुरा गर्न भारतकै भर पर्नुपर्ने अवस्था छ। प्राधिकरणले गत वर्ष करिब ७ अर्ब रुपैयाँको बिजुली आयात गर्नुपर्ने अनुमान गरेको छ भने १५ अर्ब रुपैयाँको निर्यातको प्रक्षेपण गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्