राष्ट्रियसभा बैठकमा सांसद बिडारीको प्रश्न – राजश्व चुहिने प्वाल किन टालिँदैन ?

Machchapuchchre Bank

काठमाडौँ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले राजश्व चुहावट हुने प्वाल किन नटालिएको भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयकको विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले ५० प्रतिशत राजश्व चुहावट भइरहेको दाबी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

‘जनताको पैसा सरकारको ढुकुटीमा आउनुपर्नेमा सरकारको ढुकुटीमा नआएर व्यक्तिको निजी सम्पत्ति बनिरहेको छ’, बिडारीले भने, ‘चुहिने तरिका के के छन्? ती प्वाल किन टालिँदैन?टालेको कुरालाई किन फेरि मूल्यांकन गरिँदैन भन्ने विषय गम्भीरतापूर्वक उठ्ने गरेको छ।’

कानुन बनाएर भ्रष्टाचार हुने गरेको र कानुन निर्माता नै त्यसमा संलग्न भएको बिडारीले आरोप लगाए। नियम, विनियम, निर्देशिका बनाएर राजश्व चुहावट हुने गरेको बिडारीको भनाइ थियो। मन्त्रीहरूले पनि नियम कानुन बनाएर चुहावट गर्ने बताए। चुहावटको राजश्व कर्मचारी र नेताका खल्तीमा जाने गरेको उनको भनाइ थियो।

नयाँ संशोधनमा जरिवाना र कैद बढाउने प्रस्ताव भएको तर पर्याप्त नभएको उनको भनाइ थियो। ‘सजायका व्यवस्था बढेको प्रस्ताव छ। २० अर्ब भ्रष्टाचार गर्दा ५ वर्ष जेल जाने व्यवस्था छ। यो प्रकारको प्रवृति आयो भने किन काम गर्ने २० अर्ब कमायो ५ वर्ष जेल गयो,’उनले भने।

‘१०० रुपैयाँ सरकारलाई राजश्व बुझाउनु छ भने २५ रुपैयाँ बुझाउने र ७५ रुपैयाँ बाँडेर खाने भन्ने कर्मचारी र व्यापारीबीच सम्झौता हुन्छ,’बिडारीले भने, ‘कहाँ, कति, कसरी, कसले, कर लगाउने भन्ने स्पष्ट हुनुपुर्छ। कर र भन्सार कार्यालयमा गएर हेरौँ, त्यहाँ राजश्व चुहावट भइरहेको छ। अहिले त स्थानीय तहहरूले पनि कर लगाउन सक्ने व्यवस्था गरेका छौँ। अब त्यहाँ झन् समस्या हुने अवस्था देखिन्छ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्