उपेन्द्र यादवको मन्त्रालय फेरिएपछि समाजवादी पार्टीमा विवाद, बाबुराम भट्टराई फायर

Machchapuchchre

काठमाडौँ । सूचना नदिई मन्त्रालय फेरबदल गरिएको र राज्यमन्त्री हटाइएको विषयले समाजवादी पार्टीमा लफडा उत्पन्न भएको छ । यस विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ तर त्यसैलाई कारण बनाएर सरकार तत्काल छाडिहाल्ने मनस्थितिमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देखिएका छैनन् । पार्टीकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने नैतिक रूपमा सरकारमा बस्न नहुने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनमा यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा स्थानान्तरण गरिएको छ भने समाजवादीकै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको छ । यादव भारत भम्रणमा रहेका बेला मन्त्रालय फेरबदल र राज्यमन्त्री हटाइएको थियो ।

संविधान संशोधनमा सरकारको बेवास्ता र राजपासँग एकीकरणका कारण सरकार छाड्नुपर्ने दबाब पार्टीभित्र बढ्दै जाँदा मन्त्रिपरिषद्को पछिल्लो घटनाले यादवलाई नैतिक संकटमा पुर्‍याएको छ । तर यादव तत्काल सरकार छाड्ने पक्षमा नरहेको उनीनिकट पार्टी नेताले बताए । उनी भारतबाट शुक्रबार साँझ फर्किएका छन् । पार्टीका वरिष्ठ नेता अशोक राईले कुनै पनि घटनाबाट आवेगमा आएर निर्णय नहुने बताए । ‘मन्त्रिपरिषद् पुनर्गठन गर्ने, हटाउने, मन्त्रालय फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीमा निहित छ, तर गठबन्धन दल भएका नाताले प्रधानमन्त्रीले यस्तो महत्त्वपूर्ण निर्णयमा परामर्श गर्दा राम्रो हुन्थ्यो,’ राईले भने, ‘आवेगमा आएर निर्णय लिइहाल्ने पक्षमा हामी छैनौं ।’

नेता भट्टराई पक्षका नेताले भने एक/दुई दिनमै पदाधिकारी बैठक बसेर सरकार छाड्ने निर्णय लिन अध्यक्ष यादवलाई दबाब दिन थालेका छन् । यस विषयमा छलफल गर्न बिहीबार पार्टीका राजधानीमा उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको थियो । जसमा भट्टराईनिकट पदाधिकारीहरूको बाहुल्य थियो । ‘मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भए पनि सत्ता साझेदार पार्टीसँग सल्लाह र सहमतिबिना भएको निर्णयलाई सकारात्मक रूपमा लिन सकिँदैन,’ भट्टराईनिकट एक नेताले भने, ‘संघीय परिषद् अध्यक्ष भट्टराई र केन्द्रीय समिति अध्यक्ष यादवसहित बस्ने पार्टीको बैठकले सरकारमा रहने/नरहने विषयमा औपचारिक निर्णय गर्नेछ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्