अर्थ राजनीति ~ सत्तारुढ पाँच दलको गठबन्धनले गठन गरेको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्दैछ ।
सोमबार दिउँसो बस्ने बैठकमा मंसिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्तारुढ पाँच दलका साझेदारबीचको सिट बाँडफाँडका विषयमा छलफल हुनेछ ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको कार्यदलमा सत्तारुढ गठबन्धनका प्रत्येक दलबाट दुई–दुई जना सदस्य रहेका छन् ।
कार्यदलको अघिल्लो बैठकमा सिट बाँडफाँडको ढाँचामा छलफल भएको थियो ।
दलहरूले औपचारिक रूपमा सिट सङ्ख्या दाबी नगरे पनि कांग्रेसले १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये १०० सिट माग्दै आएको छ ।
तर, सत्तारुढ गठबन्धनका अन्य दलले ‘सम्मानजनक’ सिट बाँडफाँडमा जोड दिइरहेका छन् ।
सत्तारुढ गठबन्धनले तोकिएको काम यथाशीघ्र पूरा गर्न कार्यदललाई निर्देशन दिएको छ ।