काठमाडौंको तापक्रम १ डिग्रीमा झर्‍यो, देशभर चिसोले जनजीवन कष्टकर

Machchapuchchre

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । आज (बिहीबार) काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो बढ्दै गएको र काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रममा रहेको महाशाखाले जनाएको ५ ।

यसअघि मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । त्यस्तै पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४.६, पोखरा ७.४ मापन गरिएको छ । अन्य उल्लेख्य मौसम प्रणाली नरहेकाले देशभरको मौसम भने सफा रहने महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १० गते (बिहिबार) दिउँसो देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक वदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। राति भने देशको मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस ११ गते (शुक्रबार ) दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। राति भने देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। त्यस्तै पुस १२ गते (शनिबार) दिउँसो देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। राति देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्