चुनावी सरगर्मी : काँग्रेसबाट प्रधानमन्त्रीमा को को दाबेदार छन् त ?

Machchapuchchre

अर्थ राजनीति  ~   आम चुनावको मिति मंसिर ४ गते तोकिएपछि चुनावी सरगर्मी सुरु भएको छ । मतदाताहरू खासै नताते पनि उम्मेदवारका आकांक्षीहरु भने तातिसकेका छन् । अहिले पाँच दलीय गठबन्धन सरकारको नेतृत्व लिइरहेको प्रमुख सत्तारुढ नेपाली काँग्रेस पार्टी यसमा विशेष गरी उत्साहित बनेको छ, जुन स्वाभाविक पनि हो । अबको संघीय संसदको चुनावमा सो पार्टीले सके बहुमत ल्याउने, नसके सबैभन्दा ठूलो दलको रुपमा सरकारको नेतृत्व दावी गर्ने हिसाबले विस्तारै तयारी थालेको छ । नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका दाबेदारहरु कमसेकम आधा दर्जन जति देखिएका छन् । ती हुन् वर्तमान प्रम शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्ण सिटौला र गगन थापा । पाँच पल्ट प्रधानमन्त्री बनिसकेका देउवाले अब पार्टीको सक्रिय नेतृत्वबाट विश्राम लिनुपर्छ भनी युवा नेताहरुले आवाज बुलन्द गरिरहेको भएता पनि देउवाले हालसम्म त्यसबारे कुनै प्रतिक्रिया देखाएका छैनन् ।नेपाली काँग्रेसले २०४६ को जनआन्दोलनपछि सबैभन्दा लामो समय सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएता पनि चाखलाग्दो कुरा के छ भने सो पार्टीबाट निर्वाचित प्रधानमन्त्री बन्ने अवसर कृष्ण प्रसाद भट्टराईले छ महिनाको छोटो अवधिमा सरकारको नेतृत्व गरेको बाहेक दुई कोइराला र एक देउवाले मात्र पाएका छन् । गिरिजा प्रसाद कोइरालाले पाँचपल्ट प्रधानमन्त्री बन्ने अवसर पाएका थिए भने सुशील कोइरालाले एकपल्ट । पार्टीका लोकप्रिय नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकै त्याग र तपस्याका कारण नेपाली जनताले दुईजना कोइरालालाई (मातृकाबाहेक) विगत ३० वर्षको दौरानमा ६ पल्ट प्रधानमन्त्रीको कुर्सीमा राखेको कुरामा दुईमत हुन सक्दैन ।

शशांक, शेखर र गगन महत्वपूर्ण पद सम्हाल्ने अवसर पाएका छैनन् । शशांकले पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहिसकेको हुनाले र वीपी पुत्र पनि हुनाले यी तीनमध्ये उनी प्रधानमन्त्रीको बलिया दावेदार मानिन्छन् । उता गगन भाषणकलामा निपूर्ण भएता पनि यी तीनमध्ये निकै कान्छो र भर्खरै महामन्त्री भएकाले जिम्मेवार पदमा बसी काम गरेको उनको परीक्षा हुन बाँकी नै छ । हालै सम्पन्न स्थानीय निर्वाचनको नतिजाले के देखाएको छ भने परम्परागत शक्ति मानिने र ठूला कहलिएका पार्टी वा लोकप्रिय मानिने नेताहरुलाई पनि अब निर्वाचन त्यति सजिलो भने हुनेछैन । आउँदो निर्वाचन लड्नु विशेष गरी ठूला दलहरुको निम्ति फलामको च्युरा चपाए सरह हुनेछ । मतदाताहरु निकै होसियार, चनाखो र चेतनशील भैसकेका छन् । नेताहरुको व्यक्तित्व, योग्यता, क्षमता पहिचान गर्न जनता पहिले भन्दा निकै सक्षम देखिएका छन् । जनता मीठा, मीठा भाषण हैन, काम र ठोस परिवर्तन चाहन्छन् । उनीहरु सस्ता नारा र आश्वासन मात्र हैन, परिणाम र योजनाको कार्यान्वयन हेर्न चाहन्छन् । एकै व्यक्तिले धेरैपल्ट अवसर पाएको हेर्न उनीहरु चाहन्नन् । तसर्थ राजनैतिक पार्टी र तिनका नेताहरुले जनताको रुचि, उनीहरुको रोजाइ र चाहनालाई आत्मसात गर्न सक्नुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्