एयर अरेबिया र फ्लाई दुबई पनि गौतम बुद्ध विमानस्थलमा उडान थाल्दै

Machchapuchchre

अर्थ राजनीति  ~   गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट अन्य दुई विदेशी वायुसेवा कम्पनीहरुले पनि नियमित उडान थाल्ने भएका छन्। यसका लागि उक्त कम्पनीहरुले प्रक्रिया अघि बढाएको विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालले जानकारी दिए। ‘एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले भैरहवा विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेका हुन्। यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) का अन्तरराष्ट्रिय वायुसेवा प्रदायकहरु हुन्। ‘नियमित व्यवसायिक उडानका लागि थप दुई विदेशी वायुसेवा कम्पनी एयर अरेबिया र फ्लाइ दुबईले प्रक्रिया सुरु गरेका छन्,’ दाहालले भने, ‘एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै उडान थाल्ने इच्छाका साथ प्रक्रिया थालेको छ।’ एयर अरेबिया इमरेट्सको लो कस्ट एयरलाइन्स हो। जेठ २ बाट औपचारिक संचालनमा आएको जीआईएमा सोही दिनबाट कुबेतको जजिरा एयरवेजले नियमित उडान थालेको थियो। त्यसयता जजिराले यात्रु अकुपेन्सीका हिसाबले राम्रो बिजनेश पाइरहेको छ।

खासगरी श्रम गन्तव्य मुलुकबाट भैरहवा विमानस्थल जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि रुचि बढाएका छन्। त्यही क्रममा एयर अरेबिया र फ्लाई दुबईले नियमित उडानका लागि प्रक्रिया अघि बढाएका हुन्। एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले छिट्टै साताको सातैवटा उडान सुरु गर्ने तयारी गरेको पनि दाहालले जानकारी दिए। हाल राती उडान अवतरण गर्दै आएको जजिराले छिट्टै आफ्नो उडान तालिका परिवर्नन गरी बिहानका लागि बनाउने पनि योजना बनाएको यस वायुसेवाको नेपालका लागि आधिकारीक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवी चन्द्र सिंहले बताए। विमानस्थलमा यतिखेर श्रम कार्यालय स्थापना भएसँगै यतिखेर वैदेशिक रोजगार गन्तव्य मुलुकहरु आउजाउ गर्ने यात्रुलाई यो विमानस्थल थप सहज हुँदै आएको उनले बताए। ‘श्रम तथा रोजगार शाखा संचालनमा आइसकेको छ। ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ। जसले गर्दा भैरहवाबाट पायक पर्ने थुप्रै जिल्लाबाट वैदेशिक रोजगारमा जाने-आउनेलाई अब काठमाडौं पुग्नु नपर्ने भएको छ,’ दाहालले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्