काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयर पदकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भएको छ । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार साह र उपमेयरकी एमालेकी उम्मेदवार डंगोलले फराकिलो अग्रता कायमै राखेकोले जित सुनिश्चित भएको हो । बुधबार बिहानसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेकी सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेर दोस्रो स्थानमा छिन् । बालेनले सिर्जना भन्दा २० हजार ११० बढी मत ल्याएका हुन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित ३३ हजार ९७५ मतका साथ तेस्रो स्थानमा छन् । बालेनले केशव भन्दा २० हजार ७४३ बढी मत ल्याएका हुन् । काठमाडौं महानगरको उपमेयरकी एमालेकी उम्मेदवार डंगोलले ६० हजार ६७५ मत प्राप्त गरेर फराकिलो अग्रता कायम राखेकी छन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजावदी) का रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत पाएका छन् । उपमेयरमा डंगोलले श्रेष्ठभन्दा तेब्बर मत प्राप्त गरेकीले उनको जित सुनिश्चित भएको हो । हालसम्म १ लाख ६६ हजार ३१३ मतगणना सम्पन्न भईसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्