स्थानीय निर्वाचन : गाडी पठाएर मतदाता ओसार्दै दल र नेताहरू

Machchapuchchre

अर्थ राजनीति  ~ स्थानीय निर्वाचनले गर्दा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको चाप बढेको छ। मुलुकभरिबाट विभिन्न सिलसिलामा काठमाडौं आएकाहरू मतदान निम्ति आ-आफ्नो गाउँसहर फर्किने क्रम बढेसँगै उपत्यकाका बसपार्कमा चहलपहल बाक्लिन थालेको छ। उपत्यकाको कोटेश्वर, कलंकी, बसपार्क लगायत स्थानमा आइतबारबाट लामो दुरीका सवारी चाप अत्यधिक छ। ट्राफिक प्रहरीका अनुसार बिहान र साँझ काठमाडौंबाट बाहिरिने सवारी संख्या बढेको छ। निजी तथा सार्वजनिक सेवाका बस ‘रिजर्भ’ गरेर जाने क्रम पनि उत्तिकै छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सामान्य अवस्थाको तुलनामा उपत्यका छाड्ने यात्रुको चाप ४० प्रतिशत बढेको बताउँछन्। उनका अनुसार मतदाता ओसार्न राजनीतिक दल वा नेताहरूले व्यक्तिगत रूपमा गाडी रिर्जभ गरेर पनि पठाइरहेका छन्। कतिवटा गाडी दैनिक बाहिरिन्छन् भन्ने तथ्यांक भने उनीसँग छैन। व्यक्तिगत रूपमा टिकट काटेर घर जानेको संख्या पनि बढेको उनी बताउँछन्। कोभिडका कारण लामो समय थला परेको यातायात व्यवसायलाई चुनावका कारण बढ्दो आवागमनले केही राहत मिल्ने व्यवसायीहरूको अपेक्षा छ। सरकारले निर्वाचनको दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ। त्यस दिन आन्तरिक हवाई सेवा पनि बन्द हुने छ। यसले बिहीबारसम्म गाउँ पुग्ने गरी मानिसहरू धमाधम उपत्यकाबाट बाहिरिन थालेका हुन्। निर्वाचनकै लागि भनेर झन्डै १२ लाख मानिस काठमाडौंबाट बहिरिने यातायात व्यवसायीहरूको अनुमान छ। उपत्यका छाड्ने यात्रुको चाप बढेपछि काठमाडौंका सडकमा मंगलबारबाट सवारी आवागमन पातलिन थालेको छ।

यसपालि चुनाव बेला घर जानेहरू बढ्नुको अर्को कारण पनि छ। सरकारले मतदानको दिन सार्वजनिक विदा दिएको छ भने कतिपय शैक्षिक संस्थाहरू यो साताको सुरूदेखि नै बन्द भइसकेका छन्। यसबाहेक चुनावको भोलिपल्ट शनिबार परेको छ। त्यसपछि जेठ १ देखि आइतबार विदा र त्यसको भोलिपल्ट बुद्ध जयन्तीको विदा परेकाले लगातार चार दिन छुट्टी हुन्छ। कार्यालय तथा स्कुल-कलेजहरूमा लामो छुट्टी पर्नुले पनि उपत्यका छाडेर सपरिवार आ-आफ्नो गाउँसहर जानेको संख्या बढेको हो। दलहरूले पनि मतदाता निम्ति बस रिजर्भ गरेर पठाएका छन्। कतिपय नेताले व्यक्तिगत रूपमा पनि आफ्ना निकटस्थ र शुभचिन्तकहरूका निम्ति बस पठाइदिएका छन्। चुनावको अघिल्लो दिनसम्म सर्वसाधारणलाई सित्तैमा घरगाउँ पुग्ने बन्दोबस्त दलहरूले गरिदिएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्