श्रीलंकामा प्रधानमन्त्रीको राजीनामापछि सडक प्रदर्शन झन् चर्किंदै

Machchapuchchre

अर्थ राजनीति  ~  आर्थिक संकटले ग्रस्त श्रीलंकामा प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् । तर प्रधानमन्त्रीको राजीनामापछि पनि सडक प्रदर्शन झन् चर्किएको छ । सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको निवासमा आगो लगाईदिएका छन् । सरकारका अन्य मन्त्रीहरुका निवासमा पनि आगजनी गरेका छन् । प्रधानमन्त्री निवासमा भीड ओइरिएपछि राजपाक्षे निवास भित्रबाट प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको छ । घटनामा कम्तिमा ५ जनाको ज्यान गएको छ भने १ सय ९० जना घाइते भएका छन् । राजधानी कोलम्बोमा भड्किएको प्रदर्शन र झडप नियन्त्रणका लागि सेना परिचालन गरिएको छ । एक साता भन्दा लामो समयदेखि भईरहेको सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री राजपाक्षेले राजिनामा दिएका हुन् । प्रधानमन्त्री महिन्दा राजपाक्षेले ट्वीटर मार्फट आफूले राष्ट्रपति गोताबाय राजपाक्षे समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । तर राष्ट्रपति कार्यालयले भने प्रधानमन्त्रीको राजीनामाका विषयमा भने कुनै प्रतिक्रिया दिएकाे छैन्। प्रदर्शन र झडप राजधानी बाहिर पनि फैलिएको छ । राजधानी बाहिर भएको झडपमा एक जना सांसदको पनि ज्यान गएको बताइएको छ । प्रदर्शनकारीले मन्त्रीहरु र राजपाक्षे दाजु-भाइको शासनका समर्थक अधिकारीहरुका घरमा पनि आगजनी गरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्