फिल्मी राजनीति : ‘भोट देऊ, नत्र गब्बर सिंह आउँछ’

Machchapuchchre

अर्थ राजनीति  ~  वैशाख २२ गते भरतपुरमा आयोजित सत्ता गठबन्धनका शीर्ष नेताको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पुत्री रेणु दाहाललाई भोट दिन नचाहनेप्रति धाकधम्कीकै भाषा बोलेपछि अहिले त्यसको व्यापक आलोचना भइरहेको छ। ‘हँसिया हथौडालाई भोट नदिए देश दुर्घटनामा पर्नसक्छ’ भनेर दाहालले जनतामाझ भय र आतंक सिर्जना गर्न खोजेका छन्। अप्रत्यक्ष रुपमा उनले ‘हामीलाई भोट नदिए ठिक नहुने’ धम्की दिएका छन्। यो भाषा करीब करीब हिन्दी चलचित्रको ‘‘भोट देऊ, नत्र गब्बर सिंह आउँछ’ ’ भन्ने डाइलगजस्तै छ। आखिर भरतपुरमा छोरी रेणु दाहालले हारेमा देशमा उत्पन्न हुनसक्ने दुर्घटना चाहिँ के हो ? कुनै नेताकी छोरी हार्दैमा दुर्घटनामा परीहाल्ने हाम्रो देश र लोकतन्त्र त्यत्ति कमजोर भइसकेको हो त ? पक्कै होइन। दाहालले यो धम्की आम रुपमा भरतपुरलगायत देशभरका मतदाता र विशेष रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको स्पष्टै छ। दाहालले भन्न खोजेको के हो भने उनकी छोरी हारेको खण्डमा सत्ता गठबन्धन तोडिने मात्र होइन, आगामी प्रदेश र संघको चुनावमा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गर्नसक्नेछ। दाहालले संबोधनकै क्रममा भनेका थिए, ‘रेणुलाई जिताइयो भने गठबन्धन २० वर्षसम्म जाने म ग्यारेन्टी गर्छु।’जनतामाझ ‘दुर्घटना’को त्रास देखाएर मत हासिल गर्न खोज्नु स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने हरेकलाई पाच्य छैन। पक्कै पनि, रेणुले चुनाव हारेको खण्डमा माकेको मात्र हैन, दाहाल परिवारकै राजनीति चाहिँ दुर्घटनामा पर्नेछ। उच्च प्रतिष्ठाको विषय भइसकेको भरतपुरको मेयरमा रेणु हारेको खण्डमा माओवादी नेतृत्व र स्वयम् दाहालको आत्मविश्वास कमजोर हुनेछ। स्थानिय निर्वाचन परिणामको असर प्रदेश र संघको चुनावी माहौलमा पर्ने भएकाले रेणु हार्दा दाहालको निर्वाचन क्षेत्रसमेत संकटमा पर्नेछ। रेणुको हारपछि स्वाभाविक रुपमा शक्ति र सत्ताको इर्दगिर्द झुम्मिने तप्का नयाँ मेयरको पार्टीमा लाग्नेछ। यसबाट आफ्नो निर्वाचन क्षेत्रमा दाहाल झन् कमजोर बन्नेछन्। देशब्यापी रुपमा दाहालको उपहास हुनेछ। जनताले दाहालको परिवार मोहलाई ‘दरिलो झापड दिएको’, ‘दाहालको राजनीति अब धरापमा परेको’, ‘जनताले माओवादीलाई नरुचाएको’ र ‘दश वर्षे हिंशात्मक विद्रोहको ब्याजसहित बदला लिएको’ आदि अनेक टिका टिप्पणी हुनेछन्। ६ महानगरपालिकामध्ये एउटामा पनि माओवादी केन्द्रको नेतृत्व नहुनु र छोरीलाई जिताउने घिडकिसो समेत पुरा नहुनुले दाहालमा पक्कै मौजुदा सत्ता गठबन्धनप्रति मोह भंग हुनसक्छ। नेपाली कांग्रेसप्रति दाहालको आक्रोश घनिभूत हूँदै त्यो सत्तोसरापमा परिणत हुनसक्छ। गठबन्धन धरापमा पर्नसक्छ र यसले बाँकी दुई तहका निर्वाचनमा वाम गठबन्धनको चर्चा सुरु हुनसक्छ।  कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि यही डर रहेको छ । यही कारण देउवाले रेणुलाई जिताउन भरतपुरमा मात्र होइन, काठमाडौंको सभामा समेत भोट मागे। भरतपुरमा रेणुलाई उम्मेदवार बनाउन दाहालको भन्दा बढी आफ्नै जोड रहेको भन्न समेत उनी चुकेनन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्