चुनावअघि नै सशस्त्र र नेपाल प्रहरीमा नयाँ आईजीपी

Machchapuchchre

अर्थ राजनीति  ~  मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा चुनावअघि नै नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा त सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् । नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले १० वैशाख २०७९ मा अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले पनि २८ चैत २०७८ मा चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनेछन् । प्रहरीमा अहिले हालका आईजीपी थापाकै ब्याचका हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्कीसहित अर्को ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । पाल, शाही र कार्की अहिलेका आईजीपीसँगै अवकाशमा गएपछि पोखरेल र थापामध्ये भावी नेतृत्वका लागि दाबेदार बन्नेछन् । तर सरकारले अहिले उनीहरुको ब्याचका थप अधिकृतलाई पनि एआईजी बनाउने गरी दरबन्दी थप गरेको छ । सशस्त्र प्रहरी बलमा चाहिँ एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक जना १८ वैशाखसम्मका लागि आईजीपी बन्नेछन् । आईजीपी खनालकै ब्याची भएपनि उनीहरु ३० वर्षे सेवा अवधिका कारण सेवामै रहन्छन् र एक जनाले २१ दिनका लागि आईजीपी हुने अवसर पाउनेछन् । उनीहरुले अवकाश पाएपछि हालका सिनियर सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम मध्ये एक जनाले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने अवसर पाउनेछन् । र, तीन मध्ये जसले एआईजी बढुवामा बाजी मार्नेछन्, उनकै नेतृत्वमा सशस्त्र प्रहरी आसन्न चुनावमा खटिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्