जनमुक्ति सेनाले गाउँपालिका अध्यक्ष शाहीलाई गिरफ्तार गरेको खुलासा, हेर्नुहोस विज्ञप्तिसहित

Machchapuchchre

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई गिरफ्तार गरेको पुष्टि गरेको छ । पार्टीका भेरी–कर्णाली ब्यूरो इन्चार्ज रवीले विज्ञप्ति जारी गरेर पार्टीमाथिको प्रतिबन्ध, दमन, हत्या र गिरफ्तारीको प्रतिरोधस्वरुप अध्यक्ष शाहीलाई गिरफ्तार गरेको बताएका छन् ।

रवीले विज्ञप्तिमा अध्यक्ष शाहीले चरम भ्रष्टाचार गरेको, कमिसन खाएको, पार्टी विरोधी गतिविधि गरेकोले गिरफ्तार गरेको बताएका छन् । उनले जनमुक्ति सेनाको नेतृत्वमा शाहीलाई नियन्त्रणमा लिई आवश्यक छानविन गारी सकुशल रिहा गरिएको बताएका छन् ।

“निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिसन खाएको व्यापक जनगुनासो र पार्टी्विरोधी गतिविधि गरेकाले पार्टीको निर्देशनमा जनमुक्ति सेनाको नेतृत्वमा नियन्त्रणमा लिई आवश्यक छानबिनसहित सकुशल राखिएको छ” आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी विज्ञप्तिमा आफ्नो पार्टीमाथिको प्रतिबन्धको खारेजी, बिनाकारण गिरफ्तार गरिएका नेता–कार्यकर्ताको रिहाई, राज्य आतंक बन्द गर्न र सरकारले गरेको दमनको प्रतिरोधस्वरुप अध्यक्षलाई गिरफ्तार गरिएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “पार्टीमाथिको प्रतिबन्धको खारेजी, बिनाकारण गिरफ्तार गरिएका नेता, कार्यकर्ता र जनताको बिनासर्त रिहाइ, हत्या, जनआतङ्क र दमनको प्रतिरोधस्वरूप हाम्रो पार्टीले दैलेख जिल्ला ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई हिजो पुस ५ गते गिरफ्तार गरेको छ ।

“प्रतिक्रान्तिबाट स्थापित भएको संशोधनवादको प्रतिवाद गर्दै नेपालमा अधुरो क्रान्तिलाई पूरा गर्ने वैज्ञानिक समाजवादको स्थापनार्थ गठन भएको हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालदेखि राष्ट्रघात, भ्रष्टाचारी र कमिसनखोरका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । केपी वलीको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टी स्थापना भएदेखि निरन्तर दमन, हत्या, आतङ्क, गिरफ्तार गर्दै पार्टी र जनतामाथि राज्यआतङ्कको राज गर्दै आएको सर्वविदितै छ” विज्ञप्तिमा उल्लेख छ ।

इन्चार्ज रवीले अध्यक्ष शाहीले गरेको भ्रष्टाचारको असुली, बिना सर्त आफ्ना नेता–कार्यकर्ताको रिहाईको माग गर्दै विज्ञप्तिमा भनेका छन्, “शाहीद्वारा गरिएको भ्रष्टाचारको असुली गराउन र बिनासर्त देशव्यापी हाम्रो पार्टीका नेता–कार्यकर्तालाई रिहा गर्न जोडदार माग गर्दछौंँ । हाम्रो मागलाई बेवास्ता गरी फेरि दमन र गिरफ्तारी गर्न खोजेमा सामाजिक फासिवादी केपी सरकारका विरुद्ध कडाभन्दा कडा सङ्घर्ष गर्ने कुरा यही विज्ञप्तिमार्फत जानकारी गरिन्छ ।”

‘सोधपुछपछि सकुशल रिहा ‘
नेपाल कम्युनिस्ट पार्टीले ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई रिहा गरेको छ । भ्रष्टाचार गरेको, कमिसन खाने गरेको र पार्टीविरुद्ध लागेको भन्दै नेकपाले सोधपुछको लागि शाहीलाई शनिबार राति नियन्त्रणमा लिएको थियो ।

आवश्यक सोधपुछ सकिएको भन्दै नेकपाले छिमेकी जिल्ला कालिकोटको शुभकालिका गाउँपालिकाबाट आइतबार साँझ रिहा गरेको हो । शनिबार राति शाहीलाई नियन्त्रणमा लिने क्रममा उनको पन्ती इला बीच बाटोसम्म सँगै गएर फर्किएकी थिइन् । आवश्यक सोधपुछ गरेर फर्काइदिने भनेपछि इला बीचबाटै फर्केकी थिइन् ।

शाहीलाई अपरचित व्यक्तिहरुले सँगै लिएर गएको सूचना पाएलगत्तै दैलेख र कालिकोटबाट सो क्षेत्र आसपास व्यापक प्रहरी परिचालन गरिएको थियो । नेकपाले रिहा गरेपछि शाहीलाई प्रहरीले भेटाएको थियो । उनी जंगलको बाटो हुँदै फर्किदै थिए ।

‘उहाँविरुद्ध परेको उजुरीका आधारमा सोधपुछको लागि उहाँलाई नियन्त्रणमा लिएका थियौं, आवश्यक सोधपुछ पछि सकुशल रिहा गरिएको छ’ नेकपा एक नेताले भने । सोधपुछ सकेर घरपरिवार तनावमा नहोस् भनेर अध्यक्ष शाहीलाई रिहा गरिएको र थप अनुसन्धान गरेर त्यसबारे पार्टीले निर्णय लिने ती नेताले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्