राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान

Machchapuchchre

अर्थ राजनीति  ~  बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए । सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरुका एक/एक वटा मतदान स्थल छन् । प्रदेश १ को मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ । मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुने छ । लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्