‘आर्थिक वृद्धिदर गत वर्षभन्दा माथि हुन्छ’ : प्रधानमन्त्री देउवा

Machchapuchchre

अर्थ  राजनीति  ~   प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह तथा आयातमा भएको वृद्धिले आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अनुमान रहेको बताएका छन् । उनले यस अवधिमा मुद्रा स्फिति करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नका लागि विदेशी मुद्राको सञ्चिति रहेको बताए । प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै यस अवधिको पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य क्षेत्रमा केही दबाब पर्न गएता पनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार गरिने उल्लेख गरे । चालु आर्थिक वर्षमा रु ११ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म रु पाँच खर्ब ७६ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ । सङ्घ सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुस मसान्तसम्म पाँच खर्ब छ अर्ब ७८ करोड खर्च भएको छ । तीव्र आर्थिक विस्तारका लागि आवश्यक उच्च लगानी योग्य पूँजीको अभाव हुन दिइएको छैन । उच्च कर्जाको माग र विस्तार हुँदा पनि उपयुक्त उपायको अवलम्बन गरी साधारण ब्याजदरलाई वाञ्छित सीमाभित्र नै राखिएको छ । पुनःकर्जातर्फ रु एक खर्ब छ अर्ब सात करोड र सहुलियतपूर्ण कर्जामा रु ५५ अर्ब  सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गरिएको छ । संयुक्त सरकारले अङ्गीकार गरेका नीतिहरूप्रति जनसमर्थन र सहयोग प्राप्त भएको उल्लेख गर्दे प्रधानमन्त्री देउवाले संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ र विधिको शासन सुदृढ बनेको उल्लेख गरे । जनतामा त्रास र भय एवं राजनीतिक स्थायित्व प्रतिको संशयको अन्त्य भएको र सरकारले कार्यभार सम्हालेको ६ महिनाको अवधिमा हासिल भएका उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट पारे । साथै उनले सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिहरूले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको र जनतामा आशा तथा भरोसा बढेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्