संविधानविदहरूसँगको छलफलपछि मात्र सर्वदलीय बैठक तय गरिने

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज हुने भनिएको सर्वदलीय बैठक अनिश्चित भएको छ। स्थानीय तहको निर्वाचनबारे शनिबार ९ बजे गर्ने भनिएको बैठक अनिश्चित भएको हो। सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको एक नेताले बताएका थिए।  तर अहिलेसम्म सर्वदलीय बैठकको टुंगो लागेको छैन। यसैबीच एमाले नेता विष्णु रिमालले आफूहरूलाई प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकबारे कुनै खबर नआएको बताएका छन्। यता प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संविधानविदहरूसँग पहिले छलफल गरेर मात्र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ। ‘स्थानीय तहको निर्वाचनबारे पहिले संविधानविद्हरूसँग छलफल गर्ने र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ’, बालुवाटार स्रोतले बताएको छ । हिजो बसेको समन्वय समितिको बैठमा पनि सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेका थिए। यसअघि सत्तारूढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाखमा संघीय निर्वाचन र कात्तिक मंसिरमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेपछि राजनीति तरंगीत भएको छ। स्थानीय निर्वाचन वैशाखपछि धकेल्न नमिल्ने कतिपय संविधानविदहरूले तर्क गरेका छन्। यसअघि २०७४ सालमा वैशाख, असार र असोज गरेर तीन तहमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। समयमै निर्वाचन गर्नुपर्ने र स्थानीय तह नेतृत्वविहिन बनाउन नहुने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बताउँदै आएको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन सारिए एमालेलाई मान्य नहुने बताएका छन्। ज्ञवालीले निर्वाचन आयोगले प्रस्ताव गरेकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए। त्योभन्दा अगाडि या लगत्तै संघ र प्रदेश संसदको निर्वाचन भएमा आफूहरूलाई स्वीकार्य हुने उनले बताए। यस्तै नेकपा एमालेका नेता भिम रावलले सबै तहको चुनाव समयमै हुनुपर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत नेता रावलले संविधान निर्माण गर्न स्थानीय तहको अवधि ५ वर्ष किटान गरिएको स्मरण गरेका छन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्