‘संक्रमणको तीव्रता हेर्दा माघको तेस्रो सातासम्म अर्कै स्थिति आउन सक्छ’

Machchapuchchre

अर्थ राजनीति  ~  सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस अन्तिम सातादेखि दैनिक बढीमा एकसय जनामा संक्रमण पुष्टि भइरहेकोमा पछिल्लो समय भने त्यो संख्या वृद्धि भएर दुई सयदेखि साढे तीन सय जनासम्म पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबार मात्र थप ३४५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १५४ जना भारतबाट फर्किएका हुन् भने बाँकी विभिन्न जिल्लाका १९१ जना छन् । संक्रमणदर हेर्दा कोरोना समुदायस्तरमा फैलिसकेको देखिन्छ । सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्माका भनाइमा पनि सुदूरपश्चिममा कोरोना सुमदाय स्तरमा फैलिसकेको छ । अहिले यहाँ हरेक पाँच जनाको परीक्षण गर्दा एक जनामा संक्रमण देखिरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालन नगरेमा यो संख्या क्रमिक रुपमा वृद्धिहुदै जाने छ र माघको तेस्रो सातासम्म अर्कै स्थिति देखा पर्ने डाक्टर शर्मा बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको भनाइअनुसारका लक्षण मात्र नभएर व्यक्तिपिच्छे नै फरक–फरक लक्षण देखिरहेकाले कोरोना हो हैन भन्न गाह्रो छ । संक्रमितको संख्यामा वृद्धि हुन थालेको केही दिन मात्र भएको छ । माघको दोस्रो वा तेस्रो हप्ता अवस्था अहिले भन्दा अझ फरक हुन्छ की जस्तो लाग्छ । बिरामी एकदमै धेरै आउनुभएको छ । कतिपय मान्छे मौसमी रुघाखोकी भनेर स्वास्थ्य परीक्षण गराउन आइरहनुभएको छ । समुदाय स्तरमा कोरोना कुन रुपमा फैलिएको छ ? भन्ने कुरा दुई–तीन हप्तापछि मात्र थाहा हुन्छ । अहिलेसम्म संक्रमितमा गम्भीर खालको स्वास्थ्य समस्या भएको पाइँदैन् । डेल्टा भेरियन्ट जस्तो आईसीयूमा राख्नुपर्ने, अक्सिजन दिर्नैपर्ने बिरामीहरु छैनन् । भए पनि एकदम न्यून मात्रमा हुनुहुन्छ । तर असाध्यै जिउ दुःख्ने, सिंगान बग्याबग्यै गर्ने, हाँछिउ आउने, निरन्तर खोकी लाग्ने, झाडापखाला लागेर आउने बिरामीको चाप भने बढ्दो क्रममा छ । गम्भीर खालका लक्षण कम छन् । संक्रमण तीव्र रुपमा फैलिरहेका कारण सबैले स्वास्थ्य सावधानी अपनाउन जरुरी भइसकेको छ । खासमा पहिलेको जस्तो लक्षण नभएकाले अझ बढी गम्भीर बन्नुपर्ने अवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्