चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

Machchapuchchre

अर्थ राजनीति  ~  प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा “मधेस” नाम र “जनकपुरधाम” राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित एक सय चार सांसद भए पनि मतदान प्रक्रियामा ९९ सांसद सहभागी भएका थिए । एकीकृत समाजवादीका गोविन्द न्यौपाने, कांग्रेसकी शोभा लामा, एमालेकी अनिता यादव र जसपाकी डा. रिना यादव मतदानमा अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।” मधेस” नाममा सत्तारूढ दल जनता समाजवादी, माओवादी, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीका सांसदले मतदान गरे । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्ने भए पनि प्रस्तावको पक्षमा ८० मत परेको थियो । मतदानपछि सभामुख सरोजकुमार रायले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नाम “मधेस प्रदेश” घोषणा गरेका थिए । कांग्रेसले प्रस्ताव गरेको मिथिला मधेस, एकीकृत समाजवादी र एमालेले गरेको जानकी प्रदेश तथा कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले गरेको मध्यमधेस नाम राख्ने प्रस्ताव दुईतिहाइ बहुमत हासिल गर्न नसक्दा खारेज भएको सभामुख रायले जानकारी दिए । त्यसैगरी, जनकपुरधाम स्थायी राजधानी तय हुँदा वीरगन्ज महानगरपालिका र वीरगन्ज महानगरपालिकासहित पोखरियादेखि बाराको निजगढसम्मलाई राजधानी बनाउने अरू दुई प्रस्ताव पनि खारेज भए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्