” न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ ” : नेता थापा

Machchapuchchre

अर्थ राजनीति  ~  जनताको पक्षमा प्रखर आवाज उठाउने परिचय बनाएका नेता हुन् गगनकुमार थापा । तर नेपाली कांग्रेसको महामन्त्री भएपछि सर्वोच्च अदालतको विवाददेखि सत्ता गठबन्धन लगायत थुप्रै विषयमा थापाको धारणा खोजी भइरहेको छ । तर उनी सार्वजनिक मञ्चहरुमा विगतमा झैं प्रखर नभएको गुनासो छ । महामन्त्री थापा भने आफ्नो काम गर्ने तरिका बदलिएको, तर पोजिसन नफेरिएको बताउँछन् । ‘जनताको सवाल उठाउने कुरामा सम्झौता हुँदैन’ उनी भन्छन्, ‘म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरें भने किन चाहियो गगन थापा ? मेरो ठाउँमा जो भए पनि भयो नि !’ जुन जिम्मेवारीमा छु, त्यो जिम्मेवारीबाट कार्यसम्पादन गर्दा केही कुरामा ध्यान दिनैपर्ने र केही कुरामा सचेत रहनैपर्ने अवस्था छ । जस्तो– हिजो जनसरोकारका कुनै विषयलाई सार्वजनिक मञ्चबाट होस् अथवा राजनीतिक मञ्चबाट फ्याट्टै उठाइदिए पुग्थ्यो । कतिपय सन्दर्भमा प्रश्न मात्रै उठाइदिए पुग्थ्यो । उत्तर दिइरहन पर्दैनथ्यो किनकि बहस गराइदिने जिम्मेवारी थियो । महामन्त्री भएपछि कुनै विषय प्रश्न हो भन्ने लाग्दा पार्टीकै प्रश्न बनाउनुपर्नेछ । मैले कुनै प्रस्ताव गर्छु भने त्यो पार्टीकै प्रस्ताव हुनुपर्नेछ । अहिले पनि मेरो दिमागमा दर्जनौं प्रश्न छन् । प्रधानन्यायाधीशको  विषयमा साथीहरुसँग निरन्तर छलफल भइरहेको छ ।  प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्छ भन्ने लाग्छ भने पार्टीको पोजिसन बनाउनुपर्छ । पार्टीको पोजिसन बनेन भने के गर्ने ? यस्ता प्रश्नमा घोत्लिरहेको छु । नेपालको न्यायालयको आज जुन अवस्था छ, यसमा दलहरु पञ्छिन पाउँदै पाउँदैनन् । अदालतमा अहिले जे भइरहेको छ, यसले संविधान कार्यान्वयन भएर देश सहज रुपमा अगाडि बढ्ने कुरामै फरक पार्छ । यो अवस्थामा सरकार चलाइरहेको दलहरुले पन्छिएर त्यहीं (अदालतभित्रै) मिल भन्न मिल्दैन । कांग्रेसले गठबन्धनका दलहरुसँग सम्वाद गरेर कठोर निर्णय गर्नुपर्छ । शुद्धीकरणका लागि पनि न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ भन्ने मलाई लागेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्