उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिदै, नेकपबाट को बन्दैछ नयाँ सभामुख ?

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुख तुम्बाहाम्फेले अबको केही दिनमा पदबाट राजीनामा दिने बताएका छन् ।शुक्रबार नयाँ बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकमा उपनेता नेम्वाङले सत्तारुढ सांसदहरुलाई यस्तो संकेत गरेका हुन् ।

सभामुख र उपसभामुख एउटै दलबाट हुन नमिल्ने संविधानको प्रावधान अनुसार सभामुखको निर्वाचनअगावै उपसभामुखको राजीनामा आउँछ, त्यसपछिको बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछन् र सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ’ उपनेता नेम्वाङको भनाइलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेकपा सांसदले भने ।

उपसभामुख आफ्नो हुँदाहुँदै नेकपाले सभामुखमा दाबी गर्न नसक्ने भएकाले शिवमायाले राजीनामा दिनुपर्ने नेम्वाङको भनाइ थियो । संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक यही पुस ११ गतेका लागि बोलाइएको छ । तर, अहिलेसम्म सभामुख चयन प्रक्रियाको मिति तोकिएको छैन ।

उपसभामुखले राजीनामा दिएपछि प्रतिनिधि सभाको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । जेष्ठ सदस्यले सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका अघि बढाउनेछन् ।अब सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र अनौपचारिक छलफल सुरु भएको छ ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ । भेटमा दुई नेताबीच सभामुख कसलाई बनाउने भन्नेबारे कुराकानी भएको बताइएको छ । सार्वजनिकरुपमा चर्चा भएअनुसार सभामुखमा पूर्वसभामुख समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले रुची देखाएका छन् । उपसभामुख तुम्बाहाम्फेले पनि दाबी गर्दै आएकी छन् ।

पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ । कृष्णबहादुर महरा पूर्वमाओवादीकै तर्फबाट यसअघि सभामुख भएकाले यसपटक पनि सभामुख नछाड्न अध्यक्ष प्रचण्डलाई पूर्वमाओवादी नेताहरुको दबाव छ । सभामुख नेकपाले लिने भएपछि उपसभामुख कुन पार्टीलाई दिने भन्ने विषयमा पनि नेकपाका नेताहरु छलफलमा छन् ।

सभामुख नेकपाले लिँदा उपसभामुख आफूहरुले पाउनु स्वाभाविक रहेको प्रमुख प्रतिपक्षी कांग्रेसले बताउँदै आएको छ । तर, नेकपाले समाजवादी र राजपालाई समेत उपसभामुख दिन सक्ने कतिपयले बताएका छन् । नेकपाले राष्ट्रिय सभाको निर्वाचनमा राजपासँग तालमेल गरेको प्रसंगलाई जोडेर कतिपयले राजपाले उपसभामुख पाउने अड्कलबाजी गरेका छन् ।

सत्ता साझेदार दल समाजवादी पार्टीलाई पनि दिन सक्ने कतिपयको भनाइ छ । तर, हालसम्म समाजवादी पार्टीले सभामुख र उपसभामुख दुबै पदमा दाबी नगरेको पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताए । ‘बहुमतप्राप्त नेकपाको नेतृत्वमा सरकार भएको हुनाले उहाँहरुले जे चाहनुभयो त्यही हुन्छ । त्यसकारण हाम्रो कुनै दाबी छैन’ शुक्रबार संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्