नारायणहिटी विवाद: बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास के भन्छन् ?

Machchapuchchre

अर्थ राजनीति  ~  नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन सञ्चालन गर्न ‘मिलेमतोमा ठेक्का दिएर अनधिकृत रूपले जग्गा मिच्न प्रोत्साहन गरेको’ भन्दै छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सातबुँदे निष्कर्षसहितको प्रतिवेदन मन्त्री प्रेम आलेलाई बुझाएको हो। समितिले दिएको निष्कर्षका सम्बन्धमा क्यान्टिन सञ्चालन गर्ने ठेक्का पाएको र नारायणहिटी संग्रहालयको जग्गा मिचेको भन्दै विवादित बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासले समितिले दिएको निष्कर्षमा आफ्नो असहमति जनाउँदै बतासले बुँदागत रूपमा त्यसको खण्डन गरेका छन्। समितिको पहिलो निष्कर्षमा भनिएको छ, ‘क्यान्टिन सञ्चालन गर्दा प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको देखिएन। क्षेत्रफल र स्थान स्पष्ट सीमांकन नगरी क्यान्टिन सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिन्छ।’बतासले यो गलत भएको र यसका लागि विकास समितिसँग गरेको सम्झौताको दोस्रो बुँदा हेर्नुपर्ने बताएका छन्। पर्यटनमन्त्री आलेको सक्रियतामा भत्काइएका ती संरचना आफूले सम्झौताअनुसार नै बनाएको बतासको दाबी छ। सम्झौतामै थप जमिनमा संरचना आवश्यक परे थप रकम सरकारलाई बुझाउनुपर्ने स्पष्ट लेखिएको उनले जानकारी दिए। अब नारायणहिटी संग्रहालयमा आफूले काम नगर्ने उनले स्पष्ट पारेका छन्। अहिलेसम्म मन्त्री आलेसँग सम्पर्क नभएको दाबी गरेका बतासले पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग एक साताअघि फोन सम्पर्क भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट सम्बन्ध रहेका बतासले यस विवादबारे अहिलेसम्म प्रधानमन्त्रीसँग कुरा नभएको दाबी गरे। प्रधानमन्त्री देउवासँग भेटघाट र फोन सम्पर्क दुवै नभएको उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्