शेयर बजारमा घट्यो उत्साह, राजश्व पनि घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ । बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ । शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार गत साउनमा पुँजीगत लाभकर ३ अर्ब २१ करोड थियो । भदौमा घटेर २ अर्बमा झर्यो । ‘असोजमा एक अर्ब हाराहारीमा भएकोमा अहिले त्यो पनि घटेर कात्तिक महिनामा एक अर्बभन्दा कम छ,’ आचार्यले भने । पछिल्लो समय साच्चिकै बजारमा चाम घटेको तथ्यांकले नै पुष्टि गर्छ । कुनै बेला ३ हजार २ सय अंकमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको नेप्से परिसूचक बिहीबारसम्म घटेर २ हजार ४ सय ४९ अंकमा झरेको छ । ६ महिनामा नै यति ठूलो गिरावट आएको हो । उच्च बिन्दु भन्दा नेप्से परिसूचक अहिले ५ सय ५१ अंकले घटेको छ । नेप्से परिसूचक मात्रै होइन शेयर लगानीकर्ताहरुको पुँजीकरण समेत १० खर्ब भन्दा धेरैले घटेको छ । ६ महिना अघिमात्रै ४४ खर्बमा पुगेको लगानीकर्ताहरुको पुँजीकरण अहिले घटेर ३४ खर्ब ४४ अर्ब रुपैयाँमा झरेको छ । दैनिक कारोबार रकम रकममा समेत निकै ठूलो गिरावट आएको छ । कुनैबेला एकैदिन करिब २२ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबारको तथ्यांक लिने हो भने जम्मा २ अर्ब ६७ करोड रुपैयाँमात्रै भएको छ । कारोबार संख्या पनि कुनै बेला दिन ३ लाखसम्म पुगेकोमा अहिले ४१ हजारमा घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्