” राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना ” : कमल थापा

Machchapuchchre

अर्थ राजनीति  ~  राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् । उनले राप्रपाको एकताको महाधिवेशनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको पनि दोहोर्याएका छन् । थापाले निर्मल निवासबाट भएको हस्तक्षेपको यो पहिलो घटना भने नभएको बताएका छन् । उनले निर्मल निवासमाथि आफूले  चुनाव हारेबापतको आक्रोशमा आरोप नलगाएको पनि बताएका छन् । ‘मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।’

तर, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धी आफ्नो र राप्रपाको नै आधारभूत मान्यतामाथि नै गम्भीर आघात भने पुगेको थापाको दावी छ । ‘नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दामाथि उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहिरहने छ’, थापाको भनाए छ । थापाले राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था भएको पनि उल्लेख गरेका छन् ।  चुनावी राजनीति भन्दामाथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा आफूहरुले राजसंस्थाको वकालत गरेको पनि उनको भनाइ छ । थापाले महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना पनि  व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्