कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

Machchapuchchre

अर्थ राजनीति  ~  दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको  कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सिमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो । यी नाकाबाट आवागमन बढी हुने गरेको छ । “आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय लाग्दैन ।”  उनले भने, “ओमिक्रोन फैलन नदिन सीमानाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ ।”पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यहीअनुसार थप तयारी गरिने उहाँको भनाइ थियो । डा. अवस्थीले बताए, “सङ्घीय स्वास्थ्य मन्त्रालयको कस्तो निर्देशन आउँछ त्यसपछि थप तयारी गर्छौ।” सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै सङ्क्रमण फैलिने खतरा बढेको बताइन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको सङ्क्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ ।  उनले भने, “हामीले प्रदेशभरिका १८ वर्षमाथिका सबै नागरिकलाई मङ्सिरभित्र पूर्ण लगाइसक्छौँ, सोहीअनुसार सुदूरपश्चिमलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्छौं ।” सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्