आजदेखि काँग्रेस प्रदेश अधिवेशन सुरु, सात प्रदेशमा को-को ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसको सातवटै प्रदेशमा अधिवेशन आज उद्घाटन हुँदैछ । काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्। प्रदेश  अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । काँग्रेस  केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् । समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन  प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले  आ–आफ्नो प्रदेशको नेतृत्व  चयनका लागि  मतदान  गर्नेछन् । काँग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ। प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन्। कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ। बिहीबार मतदाता नामावली  प्रकाशन  गर्ने कार्यतालिका छन् । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान  हुँदैछ । काँग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको  विराटनगरमा  अधिवेशन  हुनेछ  । काँग्रेस  केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश  १  का  लागि  प्रदेश  अधिवेशनसँग  सम्बन्धित  समिति गठन गरेको छ ।प्रदेश १ को सभापतिमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा  उद्धव थापालाई मैदानमा उत्रिने तयारी छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूह समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाउने नेताहरूको तयारी छ। देउवाको समूहबाट सुदूरपश्चिम प्रदेश सभापतिको उम्मेदवारका लागि कैलालीका पूर्वसभापति नरनारायण शाह (मनु), पूर्वराज्यमन्त्री गोविन्द शाह, पूर्वराज्यमन्त्री अर्जुनजंग सिंह, पुष्प शाही र प्रदेशसभा सदस्य गोविन्द बोहोराले उम्मेदवारी घोषणा गरेका छन् । पौडेल समूहले भरत खड्कालाई अघि सार्ने वा देउवा समूहमा दुई उम्मेदवार भए एउटा उम्मेदवारसँग मिलेर जाने भनेर टुंगोमा पुग्न सकेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्