कांग्रेसका जिल्ला अधिवेशनमा देउवा–पौडेल पक्षबीच कडा टक्कर

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा टक्कर देखिएको छ । हिमाली जिल्लामा दशैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशन गरेको थियो । २ नम्बर प्रदेशका ८ जिल्ला, रसुवा, धनकुटालगायत २५ जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी छ । कतै अधिवेशन स्थगन गरिएको छ भने कतै क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि जिल्ला अधिवेशनका लागि समय अपुग हुने अवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेपछि जिल्ला अधिवेशन नहुँदा पनि महाधिवेशनलाई असर नहुने निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश अधिवेशन हुँदासम्म जिल्ला पनि सबै ठाउँमा अधिवेशनको प्रक्रियामा जान्छ होला । यद्यपि अब हामी प्रदेशतिर फोकस भएका छौं ।’जिल्ला निर्वाचनअन्तर्गत मोरङमा भने दोस्रोपटक मतदान भएको छ । कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ । काठमाडौंमा सबजु बानियाँले चुनाव जितेका छन् । बानियाँ यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिका सभापति थिए । उनलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ थियो । उनका निकटतम प्रतिस्पर्धी उपेन्द्र कार्की उपविजेता बन्न पुगे कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको सहयोग थियो । सबै पदाधिकारीमा बानियाँकै प्यानल निर्वाचित भएको हो । काभ्रेमा पनि देउवा–सिटौला पक्ष मिलेको थियो । झापामा भने प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेता देउमान थेवेले सभापतिमा जितेका छन् । झापामा विश्वप्रकाश एक्लै र बाँकी समूह सबै सिटौलातिर थियो । १ नम्बर प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् ।

वरिष्ठ नेता पौडेलको क्षेत्र गण्डकी प्रदेशमा स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा देउवा समूहका सभापति निर्वाचित भएका छन् ।गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ । कास्कीमा पनि देउवा समूहले जितेको छ । तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको थियो । अन्ततः देउवा पक्षका नेता आलेले जिते । बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने तय भएको छ । लुम्बिनीमा भने पौडेल समूह अगाडि आएको छ । नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पामा पौडेल समूह र रूपन्देही तथा रुकुमपूर्वमा देउवा समूहबाट जिल्ला सभापति चुनिइसकेका छन् । ५२ जिल्लाको नतिजा आउँदासम्म सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको हो । सिटौला पक्षबाट भने झापामा एक सभापति मात्रै जितेका छन् । देउवा र पौडेल पक्षले २६/२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन् । सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आ–आफ्ना पक्षधरले जितेको दाबी समेत गर्दै आएका छन् । १३औं महाधिवेशनमा जिल्लाको नेतृत्वमा कर्णाली प्रदेशका हुम्लाबाहेक ९ वटा जिल्लामा पौडेल समूह थियो । यसपटक नतिजा उल्टिएको छ । कर्णालीका १० मध्ये ८ जिल्लामा देउवा समूहले जितेको छ भने २ जिल्लामा मात्र पौडेल समूह विजयी भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्