कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

Machchapuchchre

अर्थ राजनीति  ~  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको अधिवेशन गत मंसिर ३ गते आह्वान गरेका थिए। सोही दिन प्रदेश सभा सचिवालयले आजका लागि बैठक आह्वान गरेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको भने उपस्थिति नहुने भएको छ।  नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा व्यस्त हुने भएकाले आफूहरुको उपस्थिति आज नहुने एमालेका सांसद दल रावलले बताए। ‘हामी प्रदेश सभा दलका सदस्यहरु महाधिवेशनमा व्यस्त छौं, कतिपय त उम्मेदवार नै छौं,’ रावलले भने, ‘यसकारण हाम्रो आज उपस्थिति हुँदैन, यसमा कसरी गर्ने भन्ने कुरा सत्तापक्ष दलहरुले सोच्नुपर्छ।’ रावलले आज विश्वासको मत लिने प्रस्ताव दर्ता गरेर अरु प्रक्रिया गर्दै गर्न र एमालेको उपस्थिति भएको दिन मतदान गराउन सुझाव दिएका छन्। ‘आजको बैठकमा प्रस्ताव दर्ता गर्ने, अरु प्रक्रिया हुँदै गर्छ। हामी सहभागी भएपछि मत लिँदा उपयुक्त होला,’ उनले भने। कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले यो विषयमा एमालेसँग सल्लाह भइरहेको बताए। ‘यदी एमालेका दल नेता र माननीयहरु भोलि उपस्थित हुने भए भोलि नै विश्वासको मत लिन्छौं,’ उनले भने, ‘त्यो सम्भव भएन भने आजै विश्वासको मत लिने हो।’ संसदमा प्रमुख प्रतिपक्षी दलको उपस्थितिविना मुख्यमन्त्रीले विश्वासको मत लिन नमिल्ने खालको कानुनी प्रावधान नभएकोले एमालेसँगको सल्लाहमा उपस्थितिविना नै प्रक्रिया पूरा गर्न सकिने उनले बताए।मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका थिए। उनी नियुक्त भएको बुधबार ३० दिन पुग्दै छ। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ। माओवादीका १२, नेकपा समाजवादीका ३ र नेपाली कांग्रेसका ६ जना गरी २१ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका हुन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्