आठ अर्ब निक्षेप घट्दा सात अर्ब कर्जा

Machchapuchchre

अर्थ राजनीति  ~  मंसिर पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्ममा ८ अर्ब निक्षेप घटेको हो । यस अवधिमा कर्जा लगानी भने ७ अर्ब रुपैयाँ वृद्धि भएको छ । मंसिर तीन गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब निक्षेप संकलन गरी ४० खर्ब ४१ अर्ब कर्जा लगानी गरेका छन् । निक्षेप संकलन घटे पनि कर्जा लगानीमा आक्रामक भएपछि बैंकहरुको कर्जा र निक्षेपमा असन्तुलन भई बजारमा तरलता अभाव छ । वाणिज्य बैंकहरुको सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) राष्ट्र बैंक तोकेको भन्दा माथि पुगेको छ । मंसिर महिनाको पहिलो साता वाणिज्य बैंकहरुको सीडी रेसियो ९०.५७ प्रतिशत रहेको एसोसिएसनले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट सीसीडी अनुपातको व्यवस्था खारेज गर्दै सीडी अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान कार्यान्वयन गरेको थियो । पुँजीबाट कर्जा लगानी गर्न नपाएपछि बैंकहरुले तरलता अभाव भोगिरहेका छन् । रेमिट्यान्स आप्रवाहमा निरन्तर कमी, सरकारको कमजोर पुँजीगत खर्च, उच्च आयात र व्यापारघाटा आदि कारणले बैंकमा निक्षेप बढ्न सकेको छैन । तर, कोरोना महामारी कम भएसँगै आर्थिक क्रियाकलापमा आएको वृद्धि, आयात निर्यात व्यापारको वृद्धिलगायतका कारण बैंकमा कर्जाको माग उच्च भएको बैंकर्सले जनाएको छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्