आठबीसकोटका प्रमुख प्रशासकीय अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ

Machchapuchchre

रुकुम । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका छन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ ।

कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा कुटिएका हुन् । आक्रमणबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । चेन प्रहारबाट चोट पुगेको उनको टाउकोमा पाँच टाका लगाइएको छ ।

त्यहाँ असुरक्षासँगै थप उपचार गर्नुपर्ने भएपछि उनी जिल्ला सदरमुकाम मुसिकोट आएका छन् । मुसिकोटमा पनि उपचार सम्भव नभएपछि आफू काठमाडौं जान लागेको उनले बताए । कुटपिटमा परेका सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको छ ।

प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले कुटपिट गरेको दाबी गरे । आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्