” चुनावी प्रक्रियालाई जित वा हारका रूपमा लिनु हुदैन” : वरिष्ठ उपाध्यक्ष ढकाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघसंस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रूपमा लिन नहुने बताएका छन्। सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्टदेखि नै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताएका हुन्। आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्व उपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको उल्लेख गर्दै उनले निर्वाचनले एक जनालाई मुख्य जिम्मेवारी दिए पनि अर्को जनाको आवश्यकता र भूमिका जरुरी हुने बताए। ढकालले महासंघसहित जिल्ला-नगर उद्योग वाणिज्य संघमा निर्वाचनबाट नेतृत्व चयन भए पनि आर्थिक मुद्दामा एकढिक्का हुनुपर्ने बताए। संघका साधारणसभामा नेतृत्व चयनसँगै व्यावसायिक गतिविधि विस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने उनको भनाइ थियो। साधारणसभामा आमन्त्रित व्यवसायीसँग बीटूबी लगायतका कार्यक्रम गर्न पनि उनले सुझाव दिए। वरिष्ठ उपाध्यक्ष ढकालले आफूहरुले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासंघ पदाधिकारी र काठमाडौंका ठूला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरुले गरिरहेको बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्