बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले गत वर्ष नै कार्यविधि जारी गर्दै कोभिड महामारीको जोखिमबाट बैंकहरुलाई जोगाउनका लागि नगद लाभांशमा कडाई गरेको थियो । उक्त व्यवस्थालाई चालु वर्षका लागि समेत निरन्तरता दिएको हो । कार्यविधिमा आर्थिक वर्ष २०७७/०७८ को लागि बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था छ । तर यस्तो नगद लाभांश इजाजतपत्र प्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने तथा खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागिबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिएको छ । यसैगरी तोकेबमोजिम मासिक औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने प्रावधान छ । बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष पुगेपछि र सर्वसाधारणमा सेयर जारी गरेपछि चुक्ता पुँजीको दुई प्रतिशतभन्दा बढी सेयर धारण गर्ने संस्थापकले आफ्नो नाममा रहेको सेयर धितोबन्धक राखी कर्जा लिँदा यस बैंकको स्वीकृति नलिएको अवस्थामा त्यस्तो सेयरधनीलाई कर्जा चुक्ता नभएसम्म बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांश वा बोनस सेयर रोक्का राख्ने व्यवस्था समेत कार्यविधिमा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्