सत्ता गठबन्धनमा भागबण्डा मिलेन, तत्काल मन्त्रिपरिषद्ले पूर्णता नपाउने

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धन दलको बैठकमा मन्त्रीको भागबण्डा नमिले पछी मन्त्रिपरिषद्ले पूर्णता पाउने कार्य केहि समय पर धकेलिने भएकाे छ । मन्त्रीको भागबण्डा मिलाउन बैठक आज पुनः बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज पुनः बस्ने गरी बैठक सकिएको हाे । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्‌मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन्। यसअघि पनि गठबन्धन दलको बैठक पटक पटक बसे पनि दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन। गठबन्धन दलले मन्त्रालयको भागबण्डा टुंगो लगाई मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, सहभागी थिए। यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्