विश्व बैंकसँग शिक्षा र स्वास्थ्यका लागि पौने ६ अर्ब ऋण लिने सम्झौता

Machchapuchchre

अर्थ राजनीति   ~    नेपाल सरकार र विश्व बैंकबीच शिक्षा र स्वास्थ्यको क्षेत्रमा पौने ६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि पचास मिलियन अमेरिकी डलर अर्थात करिब पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण विश्व बैंकबाट लिने सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले बैंकले दिने वित्तीय सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए । विशेषगरी कोभिड–१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले गर्ने वित्तीय सहयोग प्रभावकारी हुने उनको भनाइ थियो । समारोहमा विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिसले यस किसिमका सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई समावेशी र उत्थानशील बनाउनमा योगदान गर्ने विश्वास व्यक्त गरे । सबैका लागि स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने र किशोरकिशोरीलाई समावेशी शिक्षा प्रदान गर्ने नेपालको लक्ष्य प्राप्त गर्न सहयोग सम्झौताले मद्दत गर्ने उनको भनाइ थियो । विश्व बैंकले दिने ऋण सहयोगले नेपालको विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति, विज्ञान छात्रवृत्ति दिई शिक्षामा सबैको पहुँचलाई सुनिश्चितता गर्न मद्दत पुग्ने बताइएको छ । यस्तै बिचमै विद्यालय छाड्नेको संख्या कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा गरिएको सहयोगले नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम गरिने बताइएको छ । यसले सार्वजनिक खरिद, वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नता आदि क्षेत्रमा सुधार गर्न सघाउने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्